काठमाडौं– नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न दुबई पुगेका छन्।
उनी अस्ट्रेलियाको बिग बास लिग (बिबिएल) को फाइनल खेलेर पिएसएलका लागि दुबई पुगेका हुन्। बिबिएलमा सन्दीपको टिम मेलवर्न स्टार्स फाइनलमा पराजित भएको थियो। सन्दीपले त्यसअघि बंगालदेश प्रिमियर लिगमा पनि सहभागिता जनाएका थिए।
सन्दीप पिएसएलमा लाहोर क्वालान्डर्ससँग आबद्ध छन्। सन्दीप आवद्ध लाहोर पाकिस्तानका फखर जमान, दक्षिण अफ्रिकाका एबी डिभिलियर्स, पाकिस्तानकै मोहमद हाफिज, यासिर साह, वेस्ट इन्डिजका कार्लोस बाथवेट, न्यूजिल्यान्डका कोरि एन्डर्सन लगायत छन्।
आगामी १७ मार्चसम्म यूएई र पाकिस्तान हुने पिएसएलमा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। जसमा इस्लामाबाद युनाइटेड, कराँची किंग्स, लाहोर क्वालान्डर्स, पेसावर जल्मी, क्यउटा ग्लाडिएर र मुल्तान सुल्तान रहेका छन्।
सन्दीपको टिम लाहोरले सुरुवाती ३ खेल खेलिसकेको छ। ३ मध्ये २ खेलमा पराजित लाहोर अंक तालिकाको पुछारमा छ। लाहोरको चौथो खेल आगामी शुक्रबार मुल्तान सुल्तानविरुद्ध छ। सो खेलमा डेब्यू गरेमा सन्दीप नवौं विदेशी फ्रेन्चाइज खेल्नेछन् ।
सन्दीप आबद्ध भएका विदेशी फेन्चाइज लिग
आइपिएल (भारत), ग्लोबल टी–२० (क्यानडा), सिपिएल (वेस्ट इन्डिज), एपिएल (अफगानिस्तान), टी-१० (यूएई), बिबिएल (अस्ट्रेलिया), बिपिएल (बंगलादेश), हङकङ टी–२० ब्लिज, पिएसएल (पाकिस्तान)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।