काठमाडौं– दिगो विकासका १७ वटा लक्ष्यमध्ये दोस्रो महत्वपूर्ण लक्ष्य ‘शून्य भोकमरी र कुपोषणको अन्त्य’ पूरा गर्न नेपालले अघिल्लो वर्षको तुलनामा सामान्य सुधार गरेको देखिएको छ।
राष्ट्रिय योजना आयोगले ‘खाद्य सुरक्षा र पोषणसम्बन्धी रणनीतिक समीक्षा– २०१८’ को प्रतिवेदन सार्वजनिक गर्दै उक्त तथ्याङ्क देखाएको हो। अघिल्लो वर्ष २१ दशमलब ९ अंकमा रहेको शून्य भोकमरी इन्डेक्स सन् २०१८ मा २० अंकमा झरेको छ।
२० भन्दा बढी अंक पाउने मुलुकलाई संयुक्त राष्ट्रसंघले गम्भीर भोकमरी भएका मुलुकको सूचीमा राख्ने गरेको छ। त्यसैगरी, सन् २०१७ मा कुल जनसंख्याको ८ दशलमब १ प्रतिशत अर्थात् २३ लाख २० हजार मानिस अझै पनि कुपोषणको अवस्थाबाट गुज्रिरहेका छन्।
वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले कृषि क्षेत्रको औद्योगीकरण हुन नसक्नु, वैज्ञानिक भूमि व्यवस्थापन हुन नसक्न, कृषि क्षेत्रमा निकै कम लगानी हुनु, आन्तरिक उत्पादन घट्दै जानु र प्रविधिलाई आत्मसात गर्न नसकेका कारण भोकमरी अन्य चुनौतीपूर्ण रहेको बताए।
दिगो विकास लक्ष्य प्राप्त गर्न नेपालले सन् २०३० सम्ममा भोकमरी र कुपोषणको अवस्थालाई अन्त्य गरिनसक्नुपर्ने हुन्छ। तर, निरपेक्ष गरिबीको अन्त्य, साक्षारता, बेरोजगारी, कृषि क्षेत्रमा बढ्दो परनिर्भरता समस्याका कारण लक्ष्य भेटाउन नेपाललाई कठिन हुने प्रतिवेदनले देखाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।