काठमाडौं– सिवाइसी अत्तरियाले धनगढी प्रिमियर लिग (डिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको प्लेअफमा स्थान पक्का गरेको छ। आफ्नो चौथो खेलमा विराटनगर किंग्सलाई १० रनले पराजित गर्दै अत्तरियाले समूहको अन्तिम खेलअघि प्लेअफमा स्थान बनाएको हो।
यता पराजयसँगै विराटनगर भने बाहिरिएको छ। विराटनगरले ५ खेलबाट ४ अंक जोडेको छ। ४ अंक नै जोडेको महेन्द्रनगर युनाइटेड भने विराटनगरलाई रनरेटमा पछि पारेर प्लेअफमा पुग्यो।
काठमाडौं गोल्डेन्स र अत्तियाबीच हुने समूहको अन्तिम खेलअघि नै प्लेअफमा पुग्ने चार टिमको टुंगो लागेको छ। काठमाडौं र अत्तरिया अन्तिम खेलअघि प्लेअफमा पुग्दा रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेडले पनि दोस्रो चरणमा स्थान बनाए। अब काठमाडौं र अत्तरियाबीचको अन्तिम खेलले समूह विजेताको टुंगो लाग्नेछ।

सोमबार धनगढीको फाप्ले क्रिकेट मैदानमा भएको खेलमा अत्तरियाले विराटनगरलाई १० रनले हरायो। अत्तरियाले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३८ रन मात्र जोड्न सक्यो। विराटनगरका लागि आसिफ शेखले ३४ बलमा ३९ रन जोडे। ओपनर असद पठान ५ बलमा २ छक्का प्रहार गर्दा १३ रन जोडेर आउट भएका थिए। पृथु बाँस्कोटाले २६ बलमा ४ चौकाको मद्दतमा २७ रन जोडे। अभिनास यादवले १४ रन र करण केसीले १२ रनको योगदान दिए।
बलिङमा अत्तरियाका भुवन कार्की र दीपेन्द्र रावतले ३–३ विकेट लिए। कप्तान दीपेन्द्रसिंह ऐरीको नाममा १ विकेट रह्यो।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले ३ विकेटको क्षतिमा १ सय ४८ रन जोड्यो। उसका लागि सनी पटेलले नटआउट ६१ रन जोडे। उनले ३१ बलमा ५ चौका र ४ छक्का हिर्काए। जयकिशन कोल्शावालाले नटआउट ५१ रन जोडे। उनले ५० बलमा ५ चौका र २ छक्का प्रहार गरे। बलिङमा विराटनगरका सुसन भारी र सांसद शेखले १–१ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।