काठमाडौं– रुपन्देही च्यालेन्जर्स धनगढी प्रिमियर लिग (डिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ। रुपन्देहीले सोमबार भएको खेलमा घरेलु टिम धनगढी स्टार्सलाई ३९ रनले हराएर प्लेअफमा स्थान सुरक्षित गरेको हो।
१५ ओभरमा झारिको खेलमा रुपन्देही १५ ओभरमा १ सय ६ रनमा अलआउट भयो। १ सय ७ रनको लक्ष्य पछ्याएको धनगढी १४ ओभरमा ६७ रनमै अलआउट भयो।
धनगढीका लागि पवन सराफले १९बलमा १५ रन जोडे। सन्दीप रजालीले १० रन र कप्तान सोमपाल कामीले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्। बलिङमा रुपन्देहीका ललित भण्डारीले ३ विकेट लिए। विक्रम शोवले २ विकेट लिँदा भीम सार्की, कप्तान भीम सार्की र पुनित महेराले १–१ विकेट आफ्नो नाममा लेखाए।
त्यसअघि पहिले ब्याटिङ गरेको रुपन्देहीका लागि सुमित महर्जनले २४ बलमा ३३ रन र विनोद भण्डारीले २५ बलमा २४ रनको योगदान दिए। बाबर हायतले १० बलमा १ चौका र २ छक्काको मद्दतमा १९ रन जोडेका थिए। बलिङमा धनगढीका सोमपाल कामी, पवन सराफ र विपिन खत्रीले २–२ विकेट हात पारे। अमिर हायत र रोहान मुस्ताफाको नाममा १–१ विकेट रह्यो।
योसँगै दुवै टिमको समूह चरणका सबै खेल सकिएका छन्। प्लेअफमा पुगेको रुपन्देही ५ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा पुगेको छ। धनगढीले ५ खेलबाट १ अंक जोड्यो। अंक तालिकाको पुछारमा रहदै यसअघि नै बाहिरिएको उसले ४ खेलमा हार बेहोर्दा १ खेल वर्षाले रद्द भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।