काठमाडौं–सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० महिला विश्वकप र सन् २०२१ मा न्युजिल्यान्डमा हुने एकदिवसीय महिला विश्वकपका लागि एसिया छनोट प्रतियोगिता सोमबारदेखि थाइल्यान्डमा सुरु भएको छ।
प्रतियोगिता आयोजक थाइल्यान्डसहित नेपाल, चीन, हङकङ, कुवेत, मलेसिया र युएईले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितालाई आगामी २ वर्षमा हुने महिलाका दुई विश्वकपका लागि छनोट हुने महत्वपूर्ण बाटो मानिएको छ।
७ टिमले राउन्ड रोबिनको आधारमा प्रतिस्पर्धा गर्नेछ। च्याम्पियन हुने एक टिमले मात्र अघिल्लो चरणमा स्थान पक्का गर्नेछन्। प्रतियोगितामा तीन टिमलाई बलियो प्रतिस्पर्धी मानिएको छ। विश्व वरीयताको १२औं स्थानमा रहेको थाइल्यान्डसँगै १४औं स्थानको युएई र १६औं स्थानको नेपाललाई दाबेदारको रुपमा लिइएको छ।
एक महिनाअघि थाइल्यान्डमै भएको टी–२० स्मास प्रतियोगिताको उपविजेता बनेको नेपालले यसपटक भने च्याम्पियन बनेर अघिल्लो चरणमा स्थान बनाउने लक्ष्य लिएको छ। प्रतियोगिताअघि नेपालीकी रुबिना क्षेत्रीले भनेकी छिन्,'यस्ता प्रतियोगिताले खेलमा सुधार ल्याउन मद्दत गर्ने भएकाले खुसी छौं। हामीले अभ्यास र उत्प्रेरणाका कक्षा लिइरहेका छौं। यी अभ्यासले हामीलाई छनोट प्रतियोगितामा राम्रो खेल्ने विश्वास लिएका छौं। हामीले अब राम्रो क्रिकेट खेल्न सके अवश्य पनि प्रतियोगिताको उपाधि जित्नेछौं।'

टी–२० मा विश्वकप छनोटप्रतियोगिता बंगलादेश र आइल्यान्डसहित विभिन्न महादेशबाट छानिएका ६ टिम गरी ८ टिमबीच प्रतिस्पर्धा हुनेछ। जहाँबाट २ टिमले अस्ट्रेलियामा हुने टी–२० विश्वकप छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन्।
एकदिवसीय विश्वकप छनोटमा मा पनि ८ टिमबीच नै प्रतिस्पर्धा हुनेछ। शीर्ष २ टिमले न्युजिल्यान्डमा हुने एकदिवसीय विश्वकप खेल्नेछन्।
नेपालले पहिलो फागुन ७ गते मलेसियासँग खेल्नेछ। त्यस्तै दोस्रो खेल फागुन ९ गते थाइल्याण्डसँग खेल्ने नेपालले १० गते संयुक्त अरब इमिरेट्स (यूएइ), फागुन १२ गते हङकङ, १३ गते चीन र १५ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाली टिम
रुबिना क्षेत्री बेलवासे (कप्तान), सीता रानामगर (उपकप्तान), सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, अप्सारा बेगम, ममताकुमारी चौधरी, र विन्दु रावल
विनोद दास– मुख्य प्रशिक्षक
नीरा राजोपाध्याय – सहायक प्रशिक्षक
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।