चिकित्सा शिक्षामा स्नातकोत्तर तहको शुल्क निर्धारणबारे त्रिविमा हाल भइरहेको चलखेल र घोटालाबारे मेरो गम्भीर ध्यानाकर्षण भएको छ। पूर्ण निःशुल्क हुनुपर्ने स्नातकोत्तर तहमा काठमाडौं विश्वविद्यालयले कुल २२ लाख हाराहारीको शुल्कमा पढाइरहेको अवस्थामा त्रिविमा सके त्योभन्दा कम हुनुपर्छ, नत्र त्योभन्दा पनि बढी कुनै हालतमा हुनु हुँदैन।
यसैबीच त्रिवि कार्यकारी परिषदमा २२ लाखभन्दा बढाएर शुल्क सिफारिश गरिएको भन्ने जानकारीमा आएको छ। त्यसरी बढाएर पठाइएको शुल्कमा समेत त्रिवि कार्यकारी परिषदमा मोलमोलाई भइरहेको भन्ने सुन्नमा आइरहेको छ। त्यस्तो निन्दनीय कामप्रति मेरो कडा आपत्ति छ।
आइओएमलाई विगतमा बारम्बार सम्झौता भएअनुसार थप स्वायत्तता दिनको सट्टा विद्यार्थी भर्ना र शुल्कजस्ता विषयमा आइओएमको अधिकार नाजायज रुपमा खोसेर त्रिविले लिएकोमा अहिले त्यसैको भरमा निजी मेडिकल कलेजसितको मिलेमतोमा अनियमितता र अराजकता मच्चाउन लागिएको प्रस्टै हुन्छ। चिकित्सा शिक्षा ऐन रोकेर लुटतन्त्र मच्चाउन चाहने मेडिकल माफियाहरुले राजनीतिज्ञहरुको संरक्षणमा यस्तो दुस्साहस गरेको कुरामा विवाद छैन।
विद्यार्थी भर्ना र शुल्क निर्धारणजस्ता विषयमा अन्तिम निर्णय विद्या परिषद्को हुनुपर्नेमा अन्यथा भयो र शुल्क बढाएर निर्णय गरियो भने त्यो हामीलाई स्वीकार्य हुने छैन र आइओएमबाट खोसिएका सबै अधिकार तत्काल फिर्ता गर्न तथा त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गर्न माग राखेर हामीले सबै खालका आन्दोलनका कार्यक्रमहरु ल्याउने जानकारी गराउँछु। त्यस्तो अवस्था आएमा त्यसका लागि त्रिवि पदाधिकारीहरु नै जिम्मेवार हुने पनि जानकारी गराउँछु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।