काठमाडौं- गोर्खा फुजेलकी गंगामाया अधिकारीले राहदानी बनाएकी छन्।
छोरा कृष्णप्रसादको मुद्दा अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउने भन्दै गंगामायाले गत पुष १७ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवदेन दर्ता गरेकी थिइन्।
राहदानी बनाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै गंगामायाले न्याय खोज्नका लागि अन्तर्राष्ट्रिय समुदायसम्म पुग्ने बताइन्।
न्याय नपाएको भन्दै उनी गत पुस २५ गते पुल्चोकस्थित राष्ट्रसंघ भवन पुगेकी थिइन्।
गंगामायाको राहदानी बनाउन उनको पक्षमा लबिङ गर्दै आएका अधिवक्ता ओमप्रकाश अर्याल र सुरेन्द्र भण्डारी तथा नेपाल मानव अधिकार संगठनका अध्यक्ष इन्द्र अर्याल आइतबार बबरमहलस्थित जिल्ला प्रशासनमा कार्यालय पुगेका थिए।
तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धका बेला २४ जेठ २०६१ मा गंगामायाका कान्छा छोरा कृष्णप्रसादको अपहरणपछि हत्या भएको थियो।
एसएलसी परीक्षा दिएर चितवनको मामाघरमा गएका उनको रत्नगरमा हत्या भयो।

पासपोर्ट देखाउँदै गंगामाया अधिकारी। तस्बिरः दिल निशानी मगर
कृष्णका बुवा नन्दप्रसादले छोराको हत्या भएको भन्दै २४ जेठ २०६१ मा जिल्ला प्रहरी कार्यालय चितवनमा जोहरी दिएका थिए। त्यसको डेढ वर्षपछि मृतकका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। जसमध्ये १२ आरोपीले चितवन जिल्ला अदालबाट सफाइ पाइसकेका छन्।
गत भदौमा जिल्ला अदालतले आरोपीहरु छविलाल पौडेल, जानुका पौडेल, भीमसेन पौडेल, अजीव पौडेल, कालीप्रसाद अधिकारी, हेमलाल अधिकारी, सीता अधिकारी, रामप्रसाद अधिकारी (क) र (ख) मेघनाथ पौडेल, सुभद्रा तिवारी र विष्णु तिवारीलाई सफाइ दिएको थियो।
न्यायाधीश कुलप्रसाद शर्माको इजलासले पर्याप्त प्रमाण नभएको भन्दै उनीहरूलाई सफाइ दिएको थियो। अर्का आरोपी रुद्र आचार्य भने अझसम्मै फरार छन्। उनको हकमा पछि फैसला हुने अदालतको आदेश थियो।
छोराको हत्यारालाई कारबाही हुनुपर्ने मागसहित गंगामाया पटक-पटक आमरण अनसनमा बसिसकेकी छिन्।
उनका पति नन्दप्रसाद अधिकारीको छोराका न्यायका लागि अनसनकै क्रममा निधन भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।