काठमाडौं- पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भू-भागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपरान्हपछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज (आइतबार) मौसममा केही सुधार भई घाम लागे पनि भोली सोमबारबाट देशभरीकै मौसम पुन: प्रभावित भई झरी पर्ने मौसमविद् मञ्जु बासीले बताइन्। उनका अनुसार पश्चिमी वायुको नयाँ प्रणाली सोमबार बिहानबाट भित्रिँदैछ। यसले गर्दा देशका अधिकांश भू–भागमा मध्यमदेखि हल्का वर्षा र हिमपातको गतिविधि पुनः दोहोरिने मौसमविद् बासीले जानकारी दिइन्।
आज राति देशभर मौसम सामान्यतया सफा रही पश्चिमी पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै सोमबार पश्चिमी भू-भागलगायत पूर्वी तथा पहाडी क्षेत्रमा आंशिक बदली रही देशको पश्चिमी पहाडी भू-भागका केही स्थानहरुमा र पूर्वी पहाडी भेगका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मङ्गलबार देशको पश्चिमी भेगमा सामान्य बदली रही पश्चिमी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ। महाशाखाको पछिल्लाे विवरणअनुसार आज काठमाडौंकाे अधिकत तापक्रम २० दशमलव ३ डिग्री र न्यूनतम तापक्रम ४ दशमलव ६ डिग्री सेल्सियस रहेको छ।
त्यस्तै, जुम्लाको तापक्रम माइनस १ मा झरेको छ। सबैभन्दा बढी विराटनगरको न्यूनतम तापक्रम २७ डिग्री सेल्सियस रहेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।