नुवाकोट – नुवाकोट क्रिकेट संघको तेस्रो साधारणसभाले दुर्गाराज पाठकको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ।
बट्टारमा बिहीबार सम्पन्न अधिवेशनले सर्वसम्मतरुपमा पाठकलाई अध्यक्षमा चयन गरेको हो । पाठकको नेतृत्वसँगै यसअघि दुई समिति रहेको क्रिकेट संघ नुवाकोट एक भएको छ। समितिको उपाध्यक्षमा विनोद श्रेष्ठ, सचिवमा करण खतिवडा र कोषाध्यक्षमा पुनम श्रेष्ठ चयन भएका छन्।
सदस्यमा रामधन ढकाल, विमला भट्ट, राजेन्द्र पनेरु, सुरज सिलवाल, प्रज्वल सापकोटा, राजेश रिमाल, रोक्सनमान दुवाल, अनुजमान श्रेष्ठ, ओमप्रकाश श्रेष्ठ, विराटमानसिंह डंगोल र दीपेन्द्र प्याकुरेल चयन भएको निर्वाचन मण्डलका संयोजक देवराज कँडेलले जानकारी दिए।
क्रिकेटको जिल्ला समितिमा सक्रिय रहनेमध्येको नुवाकोट क्रिकेट संघ उत्कृष्ट रहँदै आएको छ । काठमाडौँ उपत्यकापछि खेल र प्रतियोगिता सञ्चालन हुने जिल्लाका आधारमा नुवाकोट क्रिकेटको सक्रियता उत्कृष्ट रहेको छ।
नुवाकोटमा उत्पादन भएका खेलाडी राष्ट्रियस्तरसम्म पहुँच जमाउन सकेपनि यहाँ खेल मैदानको अभाव भएकाले त्यसको समाधानका लागि दुई वर्षभित्र राष्ट्रियस्तरको मैदान निर्माण गर्ने नवनिर्वाचित अध्यक्ष पाठकले बताए।
एसियाली क्रिकेट संघको सहयोगमा नुवाकोटमा क्रिकेट खेल मैदान बनाउन आर्थिक र प्राविधिक सहयोगको प्रतिबद्धता मिलेको छ । मैदान निर्माणका लागि जग्गा अभावले ढिलाइ हुँदै आएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।