काठमाडौं- पश्चिमी वायुको प्रभावले आज देशभर मौसम बदली हुनुका साथै मध्यपहाडी भू–भागका केही स्थानमा छिटफुट वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पश्चिमी वायुको प्रभावले भारी वर्षाको सम्भावना नरहे पनि छिटफुट र मध्यमखालको वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् समिर श्रेष्ठले बताए। ‘अझै एक/दुई दिन मौसम पूर्णरुपमा खुल्ने छैन र घाम पनि खासै लाग्ने छैन,’ श्रेष्ठले भने।
काठमाडौँ उपत्यकामा आज हल्का वर्षा भएको छ।
बुधबार बेलुका सुदूरपश्चिम भित्रिएको न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि नै पश्चिमी भेगको मौसम प्रभावित बनाएको छ। आज राति देशको पश्चिमी र मध्य भूभागमा आंशिक बदली रही मध्यपहाडी क्षेत्रका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ।
भोलि आइतबार देशको पूर्वी तथा मध्यपहाडी भू–भागमा आंशिक बदली हुनाका साथै बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। सोमबार पश्चिमी भू–भागलगायत पूर्वी तथा मध्यपहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको अधिकमत तापक्रम २१ दशमलव ७ डिग्री र न्यूनतम तापक्रम ८ दशमलव ४ डिग्री सेल्सियस रहेको छ। सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २५ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।