काठमाडौं– आकर्षक तलब। काम पनि सजिलो। अझ महिलाका लागि झनै उपयुक्त।
केही महिलालाई यस्तै आश्वासन देखाए रुकुमको बाफिकोट गाउँपालिका–२ का ४३ वर्षीय ज्ञानेन्द्रबहादुर पौडेलले।
काठमाडौं टोखा बस्ने पौडलले केही महिलालाई प्रलोभनमा पार्न सफल पनि भए। तिनैमध्ये एक थिइन् सम्झना तामाङ (नाम परिवर्तन)। सबै कानुनी प्रक्रिया पूरा गरेर उनलाई लिबिया पठाउने बाचा पौडेलले गरे।
पौडेलकै भनाइ अनुसार मासिक १ लाख ३० हजार रुपैयाँ कमाउनेमा ढुक्क थिइन् सम्झना। ‘जति छिटो पैसा बुझाउनुहुन्छ त्यति नै छिटो लिबिया पुगेर कमाउनुहुन्छ। यस्तो अफर फेरिफेरि आउँदैन। विचार गर्नुस्,’ पौडेलले भनेको कुरा सम्झन्छिन् सम्झना।
बेरोजगार भएर बस्नुभन्दा ऋणपान गरेर भए पनि लिबिया पुगेर मासिक १ लाख ३० हजार कमाउने सपना देख्न थालिसकेकी थिइन् उनले। पुसको पहिलो साता ऋण काढेर पौडेललाई १२ लाख बुझाइन्।
पौडेलले सम्झनालाई दिल्लीमै सबै कागजात बन्ने र त्यतैबाट लिबिया जान सहज हुने बताएका थिए। उनकै सुझाव बमोजिम पुस ७ गते सम्झना दिल्ली जान भन्दै काठमाडौंबाट बस चढिन्।
नेपालगन्ज हुँदै दिल्ली उत्रिएकी उनलाई दिल्लीकै एक घरमा राखियो। खानेबस्ने सबै व्यवस्था पौडेलकै टिमले गरेको थियो। कानुनी प्रक्रिया पूरा गर्नुपर्ने र त्यसका लागि केही समय लाग्ने दिल्लीमा रहेका दलालले सम्झनालाई आश्वासन दिए। पौडेलको आश्वासनले लोभिएकी उनले ती दलाललाई सहजै पत्याइन्।
भोलि लिबिया उड्ने भन्दाभन्दै सम्झनालाई १ महिना ४ दिनसम्म दिल्लीमै राखियो।
त्यहाँबाट उनलाई मणिपुर इन्फाल हुँदै म्यानमारको मोरहे ठाउँमा पुर्याइयो। त्यहाँबाट उनीहरुले लिबिया पठाउने बताएका थिए।
मोरहे पुगेपछि भने सम्झना कैदी जस्तो बनिन्।
घरभित्र थुनेर राख्ने। खान पनि राम्रोसँग नदिने। शारीरिक यातना मात्र होइन यौन दुर्व्यवहार समेत। दलालका हाउभाउ र कुरा गराइबाट आफू ठगिसकेको र बेच्न ल्याइएको भन्ने अनुमान सम्झनाले लगाइसकेकी थिइन्।
२४ दिनसम्म उनलाई म्यानमारको मोरहेस्थित घरमा बन्धक बनाएर राखिएको थियो।
मानव तस्करको पञ्जाबाट भागेर उनलाई कसरी हुन्छ नेपाल फर्किनु थियो। कसोकसो २४ दिन मोरहे बसेपछि उनी मानव तस्करको आँखा छलेर त्यहाँबाट भाग्न सफल भइन्।
मोरहेबाट इम्फाल हुँदै उनी दिल्ली आइपुगिन्। दिल्लीबाट बस चढेर काठमाडौं फर्कन सफल भइन्।
आफूलाई लिबियामा रोजागरीको लागि पठाउने भन्दै १२ लाख रुपैयाँ लिएर मानव तस्करी गर्ने पौडेलविरुद्ध महानगरीय प्रहरी अपराध महाशाखामा उनले उजुरी दिएकी थिइन्।
पीडित महिलाको उजुरीको आधारमा पौडेललाई बिहीबार पक्राउ गरिएको अपराध महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। उनलाई बिहीबार दिउँसो साढे ४ बजे नयाँ बसपार्कबाट पक्राउ गरिएको थियो।
उनीमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।