खोटाङ- आगामी मंसिर १० गते हुने निर्वाचनमा नयाँ शक्ति नेपालबाट खोटाङमा उम्मेदवार बनेका मदन राईले तरकारीको बीउ दिएर भोट मागिरहेका छन्।
प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी अभियानमा रहेका राईले जिल्लाका हरेक स्थानीय तहमा आफ्ना कार्यकर्ता खटाएर रायो, मूला र केराउको बीउ बाँड्न लगाएका हुन्।
तरकारीको बीउ लिएर जनताको घरदैलोमा पुगेका कार्यकर्ताले राईको चुनावी घोषणापत्रसमेत बाँड्ने गरेका छन्। बीउ र घोषणापत्र सँगै प्याकिङ गरिएको प्लाष्टिकको पोकोमा ‘मदन राई को हो?’ शीर्षकको राईको जीवनीसमेत राखिएको छ।
झन्डै महिना दिन अघिदेखि चुनावी प्रचारमा रहेका राईले आचारसंहिता विपरीत जनतालाई प्रलोभनमा पार्न तरकारीको बीउ वितरण गरेको अन्य दलले आरोप लगाएका छन्।
जिल्लाबाट प्रतिनिधिसभाका लागि नयाँ शक्तिका उम्मेदवार राईसँगै विभिन्न राजनीतिक दलका १० जनाको उम्मेदवारी परेको छ। कृषि क्षेत्रको विज्ञ राईले भने भोटका लागि नभई जिल्लावासीलाई तरकारीमा आत्मनिर्भर बनाउन बीउ वितरण गर्न लगाएको बताएका छन्।
चुनावी अभियानमा जनताको घरमा जाँदा खाली हात जानुभन्दा थोरै भए पनि कोसेलीस्वरुप तरकारीको बीउ लिएर जाने गरिएको अभियानमा खटिएका सूर्यबहादुर राईले बताए।
जिल्लाबाट प्रतिनिधिसभाका लागि १० जनाको उम्मेदवारी परे पनि वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा (एमाले) का विशाल भट्टराई र नेपाली कांग्रेसका तर्फबाट सरस्वती बजिमयबीच प्रतिस्पर्धा हुने जिल्लावासीको अनुमान छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।