काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले कर्मचारी समायोजन विधेयक हतार-हतार पारित गरेको छ। समितिले शुक्रबार सो विधेयक पारित गरेको हो। विधेयकमा फेरिएका विषयवस्तुबारे समितिका सदस्यलाई जानकारी नै नगराई समितिकी सभापति शशी श्रेष्ठले विधेयक पारित गरेकी हुन्।
सांसदहरुलाई समितिले सरकारले ल्याएको विधेयकमा के-के परिवर्तन गरियो भन्ने सामान्य जानकारी नै नदिई पारित भएको घोषणा सभापति श्रेष्ठले गरेको समितिका एक सदस्यले बताए।
सभापतिले विधेयक पास भएको घोषणा गरेपछि बैठकमा उपस्थित सांसदहरुले कुन-कुन विषय पास भएको भनेर सुनाउन माग गरेका थिए। तर सभापति श्रेष्ठले प्रतिनिधिसभाको बैठक नै समितिको प्रतिवेदन कुरेर बसेको भन्दै हतार-हतार पारित भएको घोषणा गरेकी थिइन्।
सभापति श्रेष्ठले प्रतिवेदन पेस गर्दा प्रतिनिधिसभामा पढ्नका लागि तयार पारेको कागज चाँहि पढेकी थिइन्। उनले पढेको सुनेर समितिमा हाँसो गुञ्जायमान भएको थियो।
सांसदहरुले पारित नै नभएको प्रतिवेदन प्रतिनिधिसभाका कसरी पेस भयो भनी प्रश्न गरेपछि उनले 'हतारमा यस्तो भयो' भनी पुनः अर्को कागज निकालेर पढ्न थालिन्।
कांग्रेसका सांसद देवेन्द्रराज कँडेल र नेमकिपाका प्रेम सुवालले समितिबाट कुन-कुन विषयहरु पास भए भनेर सभापति समक्ष जानकारी माग गरेका थिए। सुवालले विधेयकलाई समितिले अनुमोदन नै नगरेको जिकिर गर्दै थप छलफल हुनुपर्ने माग गरेका थिए।
सांसद कँडेल भने विधेयकमा के-के परिवर्तन गरियो भन्ने जानकारी लिएर जाने भन्दै बैठक औपचारिक रूपले सकिएपनि बैठक कक्षमै बसिरहेका थिए।
प्रतिवेदन शुक्रबार नै प्रतिनिसभामा पेस गर्ने तयारी गरिए पनि प्राविधिक काम नसकिएकाले दोस्रो बैठकमा पेस गरिएको थियो।
कर्मचारी समायोजन विधेयक फागुन १० गतेभित्र दुबै सदनले पारित गरी राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नुपर्नेछ।
संसदको राज्य व्यवस्था समितिले निजामति कर्मचारी समायोजन विधेयकको छलफलका क्रममा समायोजन भई प्रदेश र स्थानीय तहमा पुगेका कर्मचारीको संघमा सरुवा हुने व्यवस्था नराखी प्रतिवेदन तयार पारेको छ।
अब प्रदेश र स्थानीय तहमा समायोजित कर्मचारी संघमा पुन: सरूवा हुन सक्ने छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।