काठमाडाैं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले 'अहिले पनि मुलुकमा विद्यमान समस्याहरुको समाधान नगरे कहिले गर्ने?' भनि प्रश्न गरेका छन्।
अध्यक्ष दाहालले कम्युनिष्ट नेतृत्वको दुई तिहाईको सरकारका लागि जनताको आधारभूत समस्या समाधान गर्ने ऐतिहासिक अवसर आएको उल्लेख गर्दै अहिले पनि नगरे कहिले गर्ने भनि प्रश्न उठाएका हुन्।
शुक्रबार काठमाडौंमा आयोजित माध्यामिक विद्यालय शिक्षक युनियन, नेपालको राष्ट्रिय भेलामा बोल्दै उनले धेरै लामो संघर्ष, बलिदान र मेहनतपछि प्राप्त अवसर सदुपयोग गरेर मुलुकमा विद्यमान शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न ढिलाई गर्न नहुनेमा जाेड दिए। ‘यतिबेला पनि थातिरहेका मुलुकका समस्याहरु समाधान भएनन् भने कहिले हुन्छ ? डरलाग्दो चित्र आफ्नो सामू आउने गरेको छ’, अध्यक्ष दाहालको भनाइ छ।
अध्यक्ष दाहालले विकसित मुलुकहरुले समेत पहिलो प्राथमिकतामा राखेको शिक्षा क्षेत्रको समस्या समाधानको कामलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने आवश्यकता पनि औंल्याए। उनले संविधानले शिक्षा, स्वास्थ्य र रोजगारीको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै त्यसको कार्यान्वयनका काममा गम्भीर बन्न पनि सरकारलाई सुझाव दिए।
त्यस अवसरमा अध्यक्ष दाहालले अस्थायी शिक्षकहरुको समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग गम्भीरतापूर्वक छलफल गर्ने आश्वासन पनि दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।