जनकपुर- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेश नम्बर २ का सभामुख सरोज कुमार यादव माथि दुर्व्यवहार गर्ने प्रयास गरेका छन्। उनलाई सभामुख यादवले मार्सल लगाएर कार्यकक्ष बाहिर निकालेका छन्।
बिहीबार प्रदेश २ सरकारद्धारा गठित समितिको सभापतिका लागि मनोनयन दर्ताको विषयमा लिएर विवाद उत्पन्न भएको थियो। नेकपाका दुइ नेताबीच भएको विवादमा नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले सभामुख माथि ठूलो स्वरमा धम्की दिँदै दुर्व्यवहार गर्न प्रयास गरेपछि मण्डललाई मार्सल लगाएर कार्यकक्ष बाहिर निकालिएको प्रदेससभा सदस्य परमेश्वर साहले बताए।
अर्थ तथा योजना समितिका लागि नेकपाका तर्फबाट भरत साह र शत्रुधन महतो दुबैले मनोनयन दर्ता गराएका थिए। तर, एउटै पार्टीबाट आफनो प्रतिस्पर्धी बन्न खोजेको भन्दै सांसद भरत साहले शत्रुधन महतोको दर्ता भइसकेको मनोनयन फारम च्यातेका थिए।
यता संसदीय दलका नेता मण्डलले शत्रुधन महतोको मनोनयन दर्ता किन गरेको भन्दै सभामुखलाई हप्काएका थिए। तर, सभामुखले दर्ता गर्ने/नगर्ने कुरा समितिको रहेकोले आफूलाई यस विषयमा कुनै मतलब नरहेको भन्दा मण्डल जंगिएर सभामुख यादवलाई दुर्व्यवहार गर्न खोजेपछि मार्सल लगाएर सभामुखको कार्यकक्ष बाहिर निकालिएको प्रदेशसभा सदस्य साहले बताए।
यता प्रदेश २ सरकारद्वारा गठित ५ समितिमा अध्यक्ष निर्विरोध भएका छन्। अर्थ तथा योजना समितिमा मनिष कुमार सुमन र महिला बालबालिका तथा सामाजिक न्याय समितिमा जयनुल राइन अध्यक्ष भएका छन्। अशोक यादव प्रदेश मामिला समितिको अध्यक्ष बनेका छन्। कृषि तथा भूमि व्यवस्थापन समितिमा वीरेन्द्र सिंह र विकास समितिमा शेख अबुल कलाम अध्यक्ष चयन भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।