भोजपुर- वर्षायाम सुरु भएसँगै बन्द भएका भोजपुर जिल्लाका ग्रामीण सडक सञ्चालनमा आएका छन्।
वर्षायाममा बन्द भएको यातायात सेवा लामो समयपछि सञ्चालनमा आएको हो। यातायात सेवा सञ्चालनमा आएपछि बस व्यवसायीले जिल्लाबाट विभिन्न दुरीमा सञ्चालन गरिने यातायात सेवाको समयतालिका समेत सार्वजनिक गरेका छन्।
तालिका अनुसार भोजपुरबाट जिल्लाको पश्चिमी क्षेत्र खोटाङको सिमानास्थित चखेवा भञ्ज्याङका लागि दैनिक दुई वटा (बिहान र अपराह्न) र दाँवा, बलौटेका लागि दैनिक एक वटा बसले सेवा दिने संयुक्त बस व्यवसायी संघ भोजपुरका अध्यक्ष गोपाल मोक्तानले जानकारी दिए।
त्यस्तै, उत्तरमा दिङ्ला तथा दक्षिणमा घोरेटार लगायतका ठाउँमा भने साना ट्याक्सी सञ्चालनमा ल्याइने भएको छ। ग्रामीण क्षेत्रमा यातायात सेवा सञ्चालन भएपछि भोजपुर लगायत खोटाङका सर्वसाधारणलाई आवतजावतमा निकै सहज भएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।