काठमाडौं– ख्यातिप्राप्त बडिबिल्डर रोली विङ्कलार नेपाल आएका छन्। शनिबार काठमाडौंको प्रज्ञा प्रवनमा हुने आइएफबिबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप २०१९ का लागि विङ्कलार बिहीबार नेपाल आइपुगेका हुन्। उनी गेस्ट पोजरको लागि नेपाल आएका हुन्।
उनी यस वर्षको आर्नोल्ड क्लासिक विजेता हुन्। द विस्ट' र 'सामुराई' को उपनामले चिनिने उनी विश्वको सबैभन्दा ठूलो ज्यान भएका व्यक्ति हुन्। उनको हातको पाखुरा मात्र २४ इन्चको छ। सन् २०१३ देखि लगातार मिस्टर ओलम्पियामा प्रतिस्पर्धा गरेका विङ्कलार २०१८ मा तेस्रो भएका थिए।

बडिबिल्डिङको सबैभन्दा ठूलो प्रतियोगिता मानिने मिस्टर ओलम्पियामा भाग लिन प्रो कार्ड आवश्कता पर्छ र त्यसका लागि प्रो कार्ड अनिवार्य लिनुपर्ने हुन्छ।
नेपालमा शनिबार हुने प्रो क्वालिफायरमा चार क्याटेगोरीका प्रो कार्ड रहेका छन्। ‘मेन्स फिजिक’, ‘मेन्स क्लासिक फिजिक’ ‘मेन्स बडिबिल्डिङ,’ र महिलातर्फको ‘ओमन फिजिक’मा ‘प्रो कार्ड’ का शनिबार लागि प्रतिस्पर्धा हुनेछ। ४ विधाका च्याम्पियनले मिस्टर ओलम्पियामा भाग लिने अवसर पाउनेछन्।
तीन पटकका मिस्टर नेपाल र दुई पटकको धर्मश्री च्याम्पियन सानु गुरुङले आइएफबीबीको फेन्चाइज नेपाल भित्र्याएर प्रो क्वालिफायर आयोजना गर्न लागेका हुन्।
पहिलो पटक नेपालमा आयोजना हुन लागेको आइएफबीबी प्रोफेसनल लिग प्रो क्वालिफायरमा भाग लिन १५ देशका बडिबिल्डरहरु नेपाल आएका छन्।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।