तेह्रथुम- छथरको शुक्रबारेमा वर्षौंपछि सिर्जनात्मक गुञ्जन छाएको छ। यस क्षेत्रका साहित्यिक स्रष्टा धेरै समयपछि एकै ठाउँमा सुनिएका छन्। कुनै समय साहित्यिक स्रष्टाहरुको उर्वरभूमि मनिने तेह्रथुम र धनकुटाको छथर क्षेत्रमा पछिल्लो समय साहित्यिक गतिविधि कम भइरहेको अवस्थामा शुक्रबारे बजारमा उनीहरुले सिर्जना वाचन गरे।
साहित्यिक क्षेत्रमा पछिल्लो समय बढ्दै गएको निराशाकै कारण छथरे स्रष्टा एकजुट हुन नसकेको सहभागी युवा स्रष्टाले निष्कर्ष निकाले। कार्यक्रममा एक दर्जन युवा स्रष्टाले साहित्य सिर्जना वाचन गरेका थिए।
युवा स्रष्टा कोशी किनारे, टीका थोक्लेन, मनकुमार पारघरी, सूर्य तेह्रथुमे, प्रकाश पाक्सावा, अनिल पाक्सावा, नगेन साँवा, डिबी साँवा, मधुसुदन बस्नेत, जमित साँवालगायतले सिर्जना वाचन गरे। युवा स्रष्टाले छथरको साहित्यिक गतिविधिलाई अगाडि बढाउन भन्दै संगठित हुने प्रयत्नसमेत गरेका छन्।
प्रारम्भमा तदर्थ समितिका रुपमा टीका थोक्लेनको संयोजकत्वमा नौ सदस्यीय समिति बनेको छ। समितिको सहसंयोजकमा निभा खुसी, कार्यक्रम संयोजक अनिल पाक्सावा, प्रचारप्रसार संयोजक प्रकाश पाक्सावा र सदस्यमा मधुसुदन बस्नेत, मनकुमार पारघरी, जमित साँवा, डिकेन पाक्सावा र सावित्रा घोर्साने रहेका छन्।
कोशी किनारेको संयोजकत्वमा बनाइएको तीन सदस्यीय सल्लाहकार समितिमा सूर्य तेह्रथुमे र नगेन साँवा छन्। ऐतिहासिक १७ थुममध्ये छथर पनि एउटा थुम हो।
तेह्रथुम र धनकुटाका एक दर्जनभन्दा बढी तत्कालीन गाविस मिलेर बनेको यो भूगोलको ऐतिहासिक पहिचानलाई आधार मान्दै साहित्यकर्मी एकजुट हुने प्रयास थालिएको प्रचारप्रसार संयोजक पाक्सावाले बताए। यो क्षेत्रमा एक दशकअघि दर्जनभन्दा बढी साहित्यिक हवाई पत्रपत्रिका प्रकाशित हुने गरेका थिए। अहिले ती पत्रपत्रिका बन्द छन्।
विज्ञान प्रविधिको विकास र बढ्दो सामाजिक सञ्जाल मोहका कारण साहित्य सिर्जनाको रस नै हराउन थालेकोप्रति उनीहरुले चिन्ता व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।