काठमाडौं– भ्रष्टाचारविरुद्ध काम गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले घुस लिएको घटना सार्वजनिक भएलगत्तै उनलाई महाअभियोग लगाउने कि पदबाट राजीनामा गराउने विकल्पबारे छलफल सुरु भएको छ।
नेकपाका उपनेता सुवास नेम्वाङ, कानुनमन्त्री भानुभक्त ढकाल र महान्यायाधिवक्ता अग्नि खरेलबीच भएको बैठकमा बिहीबारभरि राजीनामाको समय दिनेबारे छलफल भएको हो। शुक्रबार बिहानसम्म पनि राजीनामा नआए महाअभियोगको तयारी गर्ने उनीहरुको बैठकले निष्कर्ष निकालेको स्रोतले जनायो।
अख्तियारमै बसेर पदको दुरुपयोग गरेको कुरा सार्वजनिक भएकाले आफूहरुको ध्यानाकर्षण भएकाले त्यस सम्बन्धी आवश्यक प्रक्रिया अघि बढ्ने उपनेता नेम्वाङले बताए।
महाअभियोगका लागि नेकपाका सांसदहरुको हस्ताक्षर संकलनको कार्य गोप्य रुपमा अघि बढेको छ। महाअभियोग प्रस्ताव तयारी रुपमा आजै राख्ने र शुक्रबार आवश्यक प्रक्रिया अघि बढाउने विषयमा सभामुख कृष्णबहादुर महरासँग नेकपाका नेता र कानुनमन्त्रीले कुराकानी गरेका छन्।
महाअभियोग पारितका लागि दुई तिहाइ आवश्यक हुने भएकाले सत्तारुढ दल संघीय समाजवादी फोरमसँग पनि राय लिएर अघि बढ्ने तयारी भएको स्रोतको भनाइ छ।
सरकारका प्रवक्ता गोकुल बास्कोटाले पनि भ्रष्टाचार नियन्त्रण गर्ने कार्यालयमा बस्ने व्यक्तिले यस्तो कार्य गरेमा सह्य नहुने बताएका छन्। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भ्रष्टाचार नियन्त्रण गर्ने कार्यालयमा रहेको व्यक्तिलाई महाअभियोग लाग्ने संकेत गर्दै 'इफ र बट' नहुने बताए।
यो संवैधानिक अंगका पदाधिकारीमाथि दर्ता भएको तेस्रो महाअभियोग प्रस्ताव हो भने अख्तियारको पदाधिकारीको दोस्रो हो। यसअघि प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता भएको थियो। त्यसपछि सर्वोच्चकी प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता भएको थियो। कार्कीको महाअभियोग सर्वोच्चको आदेशपछि फिर्ता लिइएको थियो भने कार्की पदबाट राजीनामा दिएर महाअभियोग लाग्नबाट जोगिएका थिए।
तत्कालीन संसदले महाअभियोग प्रस्ताव समयमा पारित नगर्दा सर्वोच्चले उनको नियुक्ति नै अवैधानिक भएको ठहर गर्दै फैसला गरेको थियो।
पाठकको घुस प्रकरणको भिडियो प्रधानमन्त्रीसमक्ष पुगिसकेको छ। झन्डै एक महिनाअघि नै यो विषय आएपछि प्रधानमन्त्रीसहित नेकपाका नेताहरुले पाठकमाथि कसरी अघि बढ्ने भन्ने अध्ययन गरिरहेका थिए।
बुधबार उक्त विषय सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि नेकपा तत्काल महाअभियोग अघि बढाउने तयारीमा लागेको हो। यसबारे बुधबार बिहान बालुवाटारमा पनि नेकपा नेताहरुको बैठक बसेको थियो। त्यसपछि उनीहरुले उपनेता नेम्वाङको सिंहदरबारस्थित कार्यकक्षमा अलग्गै बैठक गरेका थिए।
नेपाल इन्जिनियरिङ कलेजको विवादमा पाठकले ७० लाखभन्दा धेरै घुस लिएको खुलासा भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।