राजविराज– प्रदेश २ सरकारको बहुचर्चित कार्यक्रम ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान’ सप्तरीबाट सुरु भएको छ।
सप्तरीको बलान विहुल गाउँपालिकास्थित जागेश्वर गरहाइ जनता मावि सेहराका बालिकालाई साइकल वितरण गरी मुख्यमन्त्री लालबाबु राउतले अभियानको उद्घाटन गरे। विद्यालयका ७० जना बालिकालाई साइकल वितरण गरिएको छ।
अभियानको औपचारिक उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारको पहिलो सर्त भौतिक निर्माण नभई समाजिक रुपान्तरण भएको बताए। ‘सडक, भवन र महल बनाउँदैमा विकास हुँदैन भन्ने हाम्रो मान्यता रहँदै आएको छ’, राउतले भने, ‘सोही मान्यता अनुरुपमा समाज परिवर्तनको पहिलो खुड्किलोका रुपमा बेटी पढाउ बेटी बचाउ अभियान सञ्चालनमा ल्याइएको हो।’

महिला शिक्षित नभएसम्म प्रदेशको समृद्धि असम्भव रहेको बताएका राउतले लिङ्गको आधारमा हुने विभेद तथा कुरिति हटाउन सरकारले प्रयास गरिरहेको जानकारी दिए।
अभियानअन्तर्गत साइकल वितरणसहित प्रदेशभरका छोरीहरुको जन्मने बित्तिकै बिमा गर्ने तथा विद्यालयमा छात्राहरुलाई छुट्टै शौचालय बनाउने लगायतका कार्यक्रमसमेत समावेस रहेको उनको भनाइ छ। बिमा कार्यक्रम फागुन ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत उद्घाटन गर्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।