दमौली- पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले गरीबी निवारण र बेरोजगारी अन्त्यका लागि सबैको चासो आवश्यक रहेको बताएका छन्।
नयाँ शक्ति नेपालले सुरु गरेको ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद’ अभियानअन्तर्गत बुधबार तनहुँ आइपुगेका डा भट्टराईले भानु नगरपालिका–९ बाइस जाँगरमा आयोजित सभामा गरीबी निवारण र बेरोजगारी समस्या हल नभएसम्म देश विकास सम्भव नरहेको बताए। जनताको आर्थिकस्तर उकास्दै समृद्ध मुलुक बनाउनेतर्फ सबै पार्टीको चासो हुनुपर्नेमा उनले जोड दिए।
'राम्रोसँग देश बदल्ने काम नगरेसम्म कुर्चीमा बस्नुको कुनै अर्थ छैन', उनले भने। उनले खुद्रे योजनाभन्दा दीर्घकालीन महत्वका योजनालाई प्राथमिकतामा राखेर सरकारले काम गर्नुपर्नेमा जोड दिए।
पहाडमै समृृद्धिको सम्भाव्यता अध्ययन र पहिचानका लागि गत माघ १५ गते चिवाभञ्ज्याङबाट जनसंवाद थालेका डा भट्टराईले निर्माणाधीन मध्यपहाडी लोकमार्गको कामलाई तीव्रता दिन र गुणस्तर निर्धारण गराउन अभियान थालिएको बताए। यही फागुन १५ गते बैतडीको झुलाघाट पुगेर सम्पन्न हुने यात्राका क्रममा सबै ठाउँमा भइरहेको कामको प्रगति निरीक्षण गरिने डा भट्टराईले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।