जनकपुर- उच्च अदालत जनकपुरले सर्लाही अदालतमा एक जाहेरीकर्ताले बयान दिने क्रममा झुठो बयान दिएको भन्दै २० दिन कैदसहित २ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ।
तत्कालीन मोतिपुर गाविस–४ बस्ने भुपनारायण महतोले सर्लाही जिल्ला अदालतमा दिएको जोहरीमा प्रतिवादीहरूले आँखा फोडेको र अंगभंग गरेको किटान गरिएको थियो।
तर, अदालतमा बकपत्रको क्रममा भुपनारायण महतोले मोटरसाइकलबाट औषधि लिन जाँदा आफैं लडेको भनी बयान दिएको देखिएको भन्दै उच्च अदालत जनकपुरले कैदसहित जरिवानाको फैसला गरेको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरीवाला भुपनारायण महतोले मिति २०७२ भदौँ १० गते भएको घटना भदौँ ११ गते जाहेरी दिएका थिए। सो जाहेरीमा महतोले नाम किटान गरी सर्लाही मोतिपुर बस्ने रामविश्वास राय, प्रमोद साह, दिनेश राय, पर्शुराम साहले कुटपिट गरेको र रामविश्वासले प्रहार गरेको ईंटाबाट आँखा फुटेको भनी किटानी जाहेरी दिएका थिए।
सोहीअनुसार नेपाल सरकारले सर्लाही जिल्ला अदालतमा मुद्दा जाहेरी गराई गरेपछि सर्लाही अदालतले बकपत्रको आधारमा प्रतिवादीहरुलाई सफाइ दिएको थियो। सर्लाही अदालतमा दिएको बकपत्रमा बयान फेरिएको र झुठो बयान दिएको देखिएको भन्दै मुख्यन्यायाधीश हरिकुमार पोखरेल र न्यायाधीश ध्रुवराज नन्दको संयूक्त इजलासले महतोलाई २० दिन कैद र २ हजार रुपैयाँ जरिवाना गरेको हो।
भुपनारायण महतोले झुठो बकपत्र दिएको देखिएकोले सरकारी मुद्दा सम्बन्धी २८ को २ (क) बमोजिम सजायको फैसला सुनाएको उच्च अदालत जनकपुरका ईजलाश शाखा अधिकृत गम्भिरबहादुर राउतले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।