जनकपुर- महोत्तरीमा घुससहित रंगेहात पक्राउ परेर फरार भएका असई आज सम्पर्कमा आएका छन्।
घुस रकमसहित पक्राउ परेपछि भागेका औराही प्रहरी चौकीमा कार्यरत असई रामनरेश साह आज बर्दिबासस्थित अख्तियारको कार्यालयमा सम्पर्कमा आएका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले मंलबार १० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिए पनि असई साह रकमसहित फरार भएका थिए।
मंगलबार साहसँगै स्थानीय सःमिल सञ्चालक दिनेश साह पनि पक्राउ परेका थिए। घटना लगत्तै स्थानीय वासिन्दाले हुलहुज्जत गरी सः मिल सञ्चालक साहलाई अख्तियारको टोलीबाट छुटाउन खोज्दा असई साह पनि भागेका हुन्।
सो क्रममा अख्तियार टोलीका ३ जना घाइते भएको बर्दिवास स्थित अख्तियारको कार्यालयले जनाएको छ। घाइतेहरुको नाम भने खुलाइएको छैन।
भारतबाट भन्सार छलेर सामान ल्याउन सहयोग गर्ने भनी असई साहले सेवाग्राहीसँग घुस लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।