काठमाडौं– नेशनल कलेज काठमाडौंले वसन्त पञ्चमीको अवसरमा राष्ट्रिय अन्तरकलेज कविता प्रतियोगिता सम्पन्न गरेको छ।
कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गरेर आयोजना गरिएको प्रतियोगितामा करिब पाँच दर्जन विद्यार्थीहरूले भाग लिएका थिए।
अन्तिम ३० भित्र पर्ने विद्यार्थीहरूले आइतबार नेशनल कलेजमै उपस्थित भएर कविता वाचन गरेका थिए।
कविताहरू ‘मेरो सपनाको कलेज’ विषयको सेरोफेरोमा लेखिएका थिए। कविहरू भीष्म उप्रेती र निर्भीकजंग रायमाझीको निर्णायक मण्डलले प्रथम, दोस्रो र तेस्रो कविता सोही दिन नै घोषित गरे।
प्रतियोगितामा सिसिआरसी कलेजका भुवन सिंह कार्की प्रथम, निष्ट कलेज पाटनकी सुदिक्षा खतिवडा दोस्रो र सेन्ट जेभियरका मानस झा तेस्रो भए।
विजेताले क्रमशः १० हजार, ८ हजार र ३ हजार रूपैँया नगद पुरस्कार प्राप्त गरे। प्रतियोगितात्मक कार्यक्रमले नेपाली साहित्यको विशेष गरी कविता विधामा टेवा पुग्ने नेशनल कलेजका प्राध्यापक माधव न्यौपानेले बताए।
साहित्यलाई उजागर गर्ने उदेश्यले नेशनल कलेजले अब हरेक वर्षको वसन्त पञ्चमीमा यस्तै प्रतियोगिता गर्ने प्रतिबद्धता जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।