सिन्धुली– बुधबार बिहानभर अवरुद्ध बनेको बिपी राजमार्ग पुनः सुचारु भएको छ।
घाइतेको उपचार र दोषीलाई कारबाही गर्ने सहमतिपछि राजमार्ग सुचारु गरिएको हो।
आज बिहान क्याम्पस पढन जाँदै गर्दा बा ३ च ६७५१ नं को पिकअप भ्यानले ठक्कर दिएपछि दुई छात्रा घाइते भएका थिए।
सोही विषयलाई लिएर विद्यार्थीले राजमार्गमा टायर बालेर प्रदर्शन गर्दै आएको थियो। घाइतेको उपचार र दोषीलाई कारबाहीको माग गर्दै उनीहरुले राजमार्गसमेत अवरुद्ध पारेका थिए।
प्रहरीले ठक्कर दिई फरार रहेको भ्यानलाई नियन्त्रणमा लिएपछि विद्यार्थीले सडक अवरुद्ध छाडेर प्रहरीसँगको त्रिपक्षीय छलफलमा गएका थिए।
प्रहरी, राजनीतिक दल र विद्यार्थी प्रतिनिधिको छलफलमा प्रहरीले क्षतिपूर्ति दिलाउन पहल गर्ने, बिरामीको उपचार गर्ने, ट्राफिक नियमको पालना गराउने, माझिटारदेखि ढुङ्ग्रेबाससम्म क्याम्पस पढ्न जाँदा र पढेर फर्कंदा सुरक्षित यात्राको व्यवस्था गर्ने सहमति भएपछि राजमार्ग सुचारु भएको विद्यार्थी नेता उत्तम पहाडीले जानकारी दिए।
ठक्करबाट राजमार्गमा पैदलयात्रागरी क्याम्पस जाँदै गरेकी गोलञ्जोर गाउँपालिका– ३ घर भएकी १७ वर्षीया रोजिना कार्की र कमलामाई नगरपालिका– ११ निवासी १८ वर्षीया मुनी थापा घाइते भएका थिए।
घाइतेमध्ये मुनी थापाको अवस्था गम्भीर रहेकाले उपचारका लागि धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
रोजिनाको सिन्धुली अवस्थामा उपचार भइरहेको छ।
छात्रालाई ठक्कर दिई फरार रहेको बोलेरोलाई प्रहरीले बिपी राजमार्ग हुँदै खुर्कोट तर्फ जाँदै गरेको अवस्थामा गढीबाट नियन्त्रणमा लिएकोे जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।