काठमाडौं– धनगढी प्रिमियर लिग (डिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा घरेलु टिम धनगढी स्टार्स लगातार तेस्रो खेलमा पराजित भएको छ। तीन खेलमा पराजित भएसँगै धनगढी समूह चरणबाटै बाहिरिने खतरामा परेको छ। धनगढीलाई बुधबार भएको खेलमा विराटनगर किंग्सले २१ रनले पराजित गरेको हो। जारी प्रतियोगितामा विराटनगरको यो पहिलो जित हो।
विराटनगरले दिएको १ सय ४ रनको लक्ष्य पछ्याएको धनगढी १९ ओभरमा ८२ रनमै अलआउट भयो। धनगढीका लागि सन्दीप रजालीले ३४ र राजु रिजालले १५ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
धनगढीलाई सस्तैमा समेट्न विराटनगरका कप्तान करण केसी र अभिनास यादवले ४–४ विकेट लिए। सुसन भारीले २ विकेट हात पारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३ रन मात्र जोडेको थियो। उसका लगि अभिनास यादवले २७ रन र करण केसीले २१ रनको योगदान दिए। आसिफ शेखले १२ र सांसद शेखले ११ रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा पेभिलियन फर्किए।
बलिङमा धनगढीका कप्तान सोमपाल कामी र विपिन खत्रीले ३–३ विकेट लिए। रोविन क्षेत्रीले २ र सुनील धमलाले १ विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।