काठमाडौं– धनगढी प्रिमियर लिग (डिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा काठमाडौं गोल्डेन्सले लगातार दोस्रो जित हात पारेको छ।
काठमाडौंले बुधबार भएको खेलमा महेन्द्रनगर युनाइटेडलाई ७ रनले हराउँदै प्लेअफतर्फ पाइला बढाएको हो। यता लगातार दोस्रो खेलमा पराजित महेन्द्रनगर भने दबाबमा परेको छ। उसका लागि प्लेअफ सम्भावना जीवित राख्न बाँकी ३ उत्कृष्ट खेल्नु पर्ने दबाब छ।
काठमाडौंले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याएको महेन्द्रनगरले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २७ रन मात्र जोड्न सक्यो। उसका लागि अमरसिंह रटेउलाले नटआउट २८ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। महेन्द्रनगरका लागि कप्तान शरद भेषवाकरले २३ रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।
बलिङमा काठमाडौंका रासिद खानले ३ विकेट तथा अंकित दबासले २ विकेट लिए। नन्दन यादव, ललितनारायण राजवंशी र योगेन्द्रसिंह कार्कीले १–१ विकेट हात पारे।
बुधबार धनगढीको फाप्ला मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३४ रन जोड्यो। काठमाडौंका लागि अंकित दबासले नटआउट ६५ रन जोडे। उनले ५५ बलमा ५ चौका र ३ छक्का हिर्काए। मेहबुब अलामले १३ रन जोड्दा योगेन्द्रसिंह कार्कीले नटआउट २२ रन बटुले। कार्कीले १४ बलमा समान १–१ चौका र छक्का हिर्काए। कप्तान ज्ञानेन्द्र मल्लले १४ रन जोडे भने ओपनरद्वय गौरव तोमार १ र अनिल साह ६ रनमा आउट भए।
बलिङमा महेन्द्रनगरका अमरसिंह रटेउलाले २ विकेट लिए। मोमहद नवीद, अभिनास बोहरा र सागर ढकालले १–१ विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।