-कुमार चौलागाईं/रासस
काठमाडौं- गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको धर्मुस सुन्तली फाउण्डेसनले आर्थिक सङ्कलन अभियानलाई तीव्र बनाएको छ।
चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने घोषणा गरेका अभियन्ता सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली) अहिले विश्वका विभिन्न देशमा कार्यक्रमको आयोजना गर्दै रकम सङ्कलन गरिरहेका छन्। उनीहरुले यसै साता क्रिकेट मैदान निर्माणका लागि मलेसियाका तीन वटा शहरमा ‘धुर्मुस सुन्तली साँझ’ कार्यक्रमको आयोजना गरी ३५ लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन गरेका छन्।
फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले सामाजिक सञ्जालमार्फत मलेसियाको तीन वटा शहर क्वालालामपुर, जोहोरबाहु र पेनाङमा भएको मनोरञ्जनात्मक कार्यक्रममार्फत ३५ लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन भएको जानकारी दिए।
रङ्गशाला निर्माणको घोषणापछि सहयोग जुटाउन अहिले उनीहरु मलेसियामा छन्। कट्टेलका अनुसार नेपाली समुदायबाट २० लाख ७१ हजार रुपैयाँ कार्यक्रमबाट र आयोजक सिटी एक्सप्रेसबाट १५ लाख गरी ३५ लाख ७१ हजार रुपैयाँ सङ्कलन भएको हो।
अभियन्ता कट्टेलले मलेसियामा रहेका नेपालीले देखाएको उत्साह र सहयोगले निकै हौसला मिलेको बताउँदै अझै धेरै सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे। रङ्गशाला निर्माणको सहयोगार्थ सिटी एक्सप्रेसले ‘धुर्मुस सुन्तली साँझ’को आयोजना गरेको थियो।
मलेसियापछि अन्य मुलुकमा पनि यस्तै कार्यक्रम गर्नेबारे छलफल भइरहेको बताउँदै कट्टेलले रङ्गशाला निर्माणका लागि आवश्यक २ अर्ब रुपैयाँ रकम फाउण्डेसन आफैँले मात्र जुटाउन कठिन हुने भन्दै सबैसँग सहयोगको आग्रह गरेका छन्। 'रङ्गशाला निर्माणको सहयोगार्थ जुन उद्देश्य लिएर हामी मलेसिया आएका थियौँ। मलेसियामा रहनुभएका नेपाली दिदीबहिनी दाजुभाइबाट हामीले सोँचेभन्दा पनि राम्रो साथ सहयोग र सद्भाव पाएका छाैं', धुर्मुसले भने।
फाउण्डेसनले नेपालमा पहिलो अत्याधुनिक सुविधासम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला चितवनको भरतपुर महानगरपालिका–१६ रामपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयको स्वामित्वमा रहेको २० बिघा जग्गामा निर्माण प्रक्रिया सुरु गरेको हो। हाल रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीको काम भइरहेको छ भने ६ महिनाभित्र डिपिआर तयार गरी त्यसपछि दुई वर्षभित्र रङ्गशाला निर्माण गरिसक्ने लक्ष राखिएको छ।
तीन महीनाअघि धुर्मुस–सुन्तली फाउण्डेसनले भरतपुर महानगरलाई रङ्गशाला बनाउनका लागि प्रस्ताव गरेको थियो। यसबीचमा फाउण्डेसनका तर्फबाट दक्ष प्राविधिकको टोली, फाउण्डेसनका अध्यक्ष कट्टेललगायतले सो स्थानको अवलोकन गरी उपयुक्त रहेको ठहर गरेका थिए।
२ साताअघि काठमाडौंमा भव्य कार्यक्रमको आयोजना गरी रङ्गशाला निर्माणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा चितवनको भरतपुर महानगरपालिका र फाउण्डेसनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
धुर्मुस–सुन्तली फाउण्डेसनले यसअघि ललितपुरको गोदावरीमा रङ्गशाला बनाउने प्रक्रिया सुरु गरेको थियो। तर, प्राविधिकको समूहले त्यस ठाउँ उपयुक्त नभएको बताएपछि उनीहरु चितवनतर्फ लागेका थिए। भरतपुर महानगर आफैंले पनि धुर्मुस–सुन्तली फाउण्डेसनलाई क्रिकेट रङ्गशाला बनाउने भए जग्गा उपलब्ध गराउने बताएको थियो।
अध्यक्ष कट्टेलले एकदिवसीय मान्यता पाएको नेपाली क्रिकेटका लागि आवश्यक रङ्गशाला छिट्टै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्। 'धेरै ठूलो परियोजना हो, हामी आफैंले बनाउने आँट गरेका छौँ। तर सरकार वा महानगरबाट सहकार्यका लागि प्रस्ताव भएमा हामी सहकार्य गर्नेछौँ', कट्टेलले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।