काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्र दुवैका उम्मेदवारहरुले दाबी गरेपछि वाम गठबन्धनले दोस्रो चरणमा निर्वाचन हुने सात स्थानमा उम्मेदवार टुंग्याउन सकेन।
कार्यदलले उक्त जिल्लामा बाँडफाँट गर्न नसकेपछि टिकट वितरणको जिम्मेवारी दुवै पार्टीका अध्यक्षलाई दिएको छ । झापा, उदयपुर, चितवन, दाङ, सल्यान, अर्घाखाँची र प्रदेश २ को रौतहटमा उम्मेदवारको टुंगो लगाउन बाँकी रहेको कार्यदलका सदस्य तथा माओवादी नेता वर्षमान पुनले बताए।
माओवादी नेता कृष्णबहादुर महराले दाङ २ आफूले पाउनुपर्ने अडान राखेका छन् भने एमाले नेता शंकर पोखरेल उक्त क्षेत्र दिन तयार छैनन् । अघिल्लो संविधानसभामा रोल्पाबाट निर्वाचन लडेका महरा यसपटक दाङबाट उठ्ने तयारी गरिरहेका छन्।
माओवादीका बिनाविभागीय मन्त्री टेकबहादुर बस्नेतले प्रतिनिधिसभा र प्रदेशसभामा एक सिट पाउनुपर्ने अडान राखेपछि सल्यानमा पनि टुंगो लाग्न सकेन । सल्यानमा बस्नेतलाई प्रतिनिधिसभामा छोड्न एमाले तयार भए पनि दुवै प्रदेश दिनुपर्ने अडान राखेको थियो । तर, माओवादीले एउटा प्रदेशमा दाबी गरिरहेको छ।
माओवादीका नेता राम कार्कीलाई उठाउने क्षेत्र नपाएपछि माओवादीले झापामा एक क्षेत्र दिनुपर्ने अडान राखेको छ । माओवादीको उक्त अडानका कारण झापाको उम्मेदवार टुंगिन सकेको छैन।
अर्का नेता रामबहादुर थापालाई चितवन दिनुपर्ने अडानमा माओवादी देखिएको छ । अध्यक्ष पुष्पकमल दाहाल क्षेत्र नम्बर १ बाट उठ्ने भएपछि अर्को क्षेत्र दिन नसकिने एमालेको अडान छ।
यस्तै, अर्घाखाँचीमा टोपबहादुर रायमाझीलाई छोड्ने तर प्रदेशमा सबै सिट आफूले पाउनुपर्ने अडान एमालेले राखेपछि विवाद कायमै छ।
उदयपुरमा एमाले नेता जगन्नाथ खतिवडा र माओवादी नेता हिमाल किराँती दुवैले दाबी गरेपछि उम्मेदवारी टुंगो लाग्न नसकेको हो । रौतहटमा पूर्वमन्त्री प्रभु साहले आधा–आधा हुनुपर्ने माग राखेपछि सहमति जुट्न सकेको छैन।
विवाद रहेका क्षेत्रका उम्मेदवारीबारे शीर्ष नेता बसेर केही दिनमै टुंगो लगाउने माओवादी नेता पुनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।