काठमाडौं- सडक दुर्घटना न्यूनीकरण सम्बन्धमा संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस भएको छ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद डिला संग्रौला पन्तले बढ्दो सडक दुर्घटना न्युनीकरण सम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव गरेकी हुन्। उनको प्रस्तावलाई कांग्रेसकै सांसदहरु सञ्जयकुमार गौतम र रंगमति शाहीले समर्थन जनाए।
उक्त प्रस्ताव संसद् बैठकमा पेस गर्दै सांसद पन्तले सडक दुर्घटनामा परेर मृत्यु वा घाइते हुनेको तथ्यांक पछिल्लो ५ वर्षमा भयावह रुपमा बढिरहेको भन्दै दुर्घटना रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जाेड दिइन्।
उनले २६ वर्षअघि बनाइएको सवारी तथा यातायात व्यवस्था ऐन र २० वर्षअघिको सवारी तथा यातायात व्यवस्था नियमावलीका आधारमा यातायात व्यवस्थापन भइरहेको भन्दै त्यसमा सुधार गनुपर्ने धारणा राखिन्।
सडकको गुणस्तर मापन गर्ने दायित्व सरकारको भएको भन्दै उनले आर्थिक रुपमा सक्रिय युवा सडक दुर्घटनाबाट बढी सिकार भएको बताइन्। पछिल्लाे एक वर्षमा ४० हजार ७ सय ७७ दुर्घटना भएको तथ्यांक पेस गर्दै उनले वार्षिक २ हजारकाे मृत्यु भएकाे जानकारी दिइन्।
राष्ट्रसंघीय दिगो विकास लक्ष्यअनुसार सन् २०२० भित्र सडकजन्य दुर्घटनामा परेर ज्यान गुमाउने र घाइते हुनेहरुको संख्या आधा गर्नुपर्ने लक्ष भए पनि त्यो संख्या झनै बढिरहेकोमा उनले चिन्ता व्यक्त गरिन्।
ठूला दुर्घटना भए संवेदना व्यक्त गर्ने र दुई दिनपछि त्यसलाई बिर्सिने प्रवृति रहेको उनले औंल्याइन्।
उक्त प्रस्तावमा समर्थन जनाउँदै सांसद गौतमले सदन एकमत भएर सरकारलाई निर्देशन दिनुपर्नेमा जाेड दिए। उनले दश वर्षमा द्धन्द्धमा भएको क्षति र ५ वर्षमा सडक दुर्घटनाबाट भएको क्षति उस्तै र काहालीलाग्दो भएको बताए।
२६ वर्ष पुरानो यातायात ऐन अहिले पनि कार्यान्वयनमा रहेकाे भन्दै उनले यातायात अनुमति प्रणाली पनि पुरानो भएकाे तर्क गरे।
त्यस्तै, उनले साइकल, मोटरसाइकल र गाडीका लागि छुट्टै लेनको व्यवस्था गर्नुपर्ने माग गरे। निकुञ्जहरुमा सडक दुर्घटना बढेको भन्दै उनले त्यस्ता क्षेत्रहरुमा जनावरलाई सडक पार गर्न अन्डरपास बनाउनुपर्ने बताए।
अर्की सांसद रंगमती शाहीले प्रस्तावमा समर्थन जनाउँदै काठमाडौंको रिङरोडभित्रको सडक पनि राम्रो नभएको गुनासाे गरिन्।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेतले पनि प्रस्तावमा सहमति जनाएका थिए। उनले प्रस्ताव सकारात्मक भएको बताए।
त्यस्तै नेमकिपाका सांसद प्रेम सुवालले सडक दुर्घटना व्यवस्थापनसँग सम्बन्धित बिषय भएको भन्दै सन्तुलित विकास गरे त्यो घट्ने दाबी गरे। छलफलमा भाग लिएका टेकबहादुर बस्नेत लगायतले पनि प्रस्तावमा समर्थन जनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।