जनकपुर- भारतमा भइरहेको लोकसभा चुनावलाई मध्यनजर गर्दै प्रदेश २ को राजधानी जनकपुरधाममा नेपाल-भारत सुरक्षा निकायका प्रमुखहरुको संयुक्त बैठक सम्पन्न भएको छ।
भारतको लोकसभा चुनावअन्तर्गत सीमावर्ती बिहार राज्यमा केही दिनमा हुने निर्वाचन समयमा सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ तुल्याउने उद्देश्यले दुबै देशका सीमावर्ती सुरक्षा पदाधिकारीहरुको बैठक बसेको हो।
बिहारमा चुनाव सम्पन्न नभएसम्मका लागि सीमा क्षेत्रमा कडाइ गर्ने सहमति बैठकमा भएको छ। बैठकमा प्रदेश २ का जिल्लाहरुका सुरक्षा अधिकारीहरुले अवैधरुपमा भइरहेको लागुऔषधको कारोबारमा भारतीय पक्षले ध्यान दिनुपर्ने कुरा उठाएका थिए भने भारतीय पक्षले नेपालबाट निर्वाध रुपमा भइरहेको मदिरा ओसारपोसारमा कडाइ गर्न आग्रह गरेका थिए।
यस्तै, खुला सीमानाका कारण सीमावर्ती क्षेत्रमा अवैधरुपमा भइरहेको तस्करी रोक्न दुवै पक्षका सुरक्षा अधिकारी सहमत भएका छन्। साथै गायब भएका सीमा स्तम्भबारे समेत पहल गर्ने भारतीय सुरक्षा अधिकारीले प्रतिबद्धता जनाएका छन्।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको अध्यक्षतामा भएको सो बैठकमा प्रदेश २ का ८ वटै जिल्लाका प्रजिअ, सुरक्षाका निकायका प्रमुख र भारतीय पक्षबाट बिहार राज्य मधुबनीका डिएम सशक्त कपिल अशोकलगायत आधा दर्जनभन्दा बढी सुरक्षा अधिकारीहरुको उपस्थिति रहेको थियो।
‘खुल्ला सिमानाका कारण चुनाव प्रभावित गर्ने नक्कली नोटको ओसारपसार हुनसक्ने खतराबारे बैठकमा छलफल भयो', प्रजिअ कँडेलले भने, ‘भारतीय नक्कली नोट, मानव ओसारपसार, मदिरा बेचबिखन र अवैध कारोबारमा विशेष निगरानी गर्ने निर्णय भएको छ।’
चुनावका बेला नेपाल–भारत सीमामा आपराधिक क्रियाकलाप हुन नदिन दुबैतर्फका सुरक्षा निकायले निगरानी बढाउने निर्णय पनि भएको उनले बताए।
भारत, बिहार राज्यको मधुवनीसँग जोडिएका महोत्तरी, धनुषा, सिराहा र सप्तरीका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुसँग भारत बिहारको मधुवनीका डिएम कपिल अशोकले नेतृत्व गरेको समूहले लोकसभा चुनावको सुरक्षा अवस्थाबारे छलफल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।