काठमाडौं- भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले साेमबार घरेलु टोली भारतलाई २–१ ले पराजित गरेको छ। महिला फुटबलमा नेपालले भारतलाई पराजित गरेको यो पहिलो पटक हो।
नेपालको जितमा सावित्रा भण्डारीले दुई गोल गरेकी थिइन्। खेलको पाँचौँ र सातौँ मिनेटमा उनले गरेको गोल नै नेपाललाई विजयी दिलाउन पर्याप्त भएको थियो।
भारतका लागि ८४ औँ मिनेटमा रत्ना देवीले गोल गरेकी थिइन्।
नेपाल र भारतबीचको खेल उडिसास्थित कालिङ्गाका रङ्गशालामा नेपाली समयानुसार साँझ ७ बजेदेखि सुरु भएको थियो।
पहिलो खेलमा म्यानमारसँग ३–० पराजित नेपालले अघिल्लो चरण पुग्न भारतविरुद्धको खेल जित्नैपर्ने दबाब थियाे। प्रतिष्पर्धात्मक खेलमा जित हात पारेकाे नेपालको शीर्ष दुईमा पुग्ने सम्भावना बलियाे बनेकाे छ।
प्रतियोगितामा एक/एक जित निकालेको भारत र म्यानमारसहित नेपालकाे पनि समान तीन अङ्क भएकाे छ। अर्काे टाेली इरानले अङक जोड्न सकेकाे छैन। नेपालले आफ्नाे अन्तिम खेलमा इरानकाे सामना गर्नेछ। साे खेलमा जित हात पारे नेपाल फाइनलमा पुग्नेछ।
राउण्ड रोविन आधारमा हुने खेलमा शीर्ष दुई टाेलीले फाइनल खेल्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।