काठमाडौं– सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा सातदोबाटो युथ क्लबले श्रीकुमारी क्लबलाई पराजित गर्दै विजयी भएको छ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को टेक्निकल मैदानमा भएको खेलमा सातदोबाटोले श्रीकुमारी क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो। सातदोबाटोको जीतमा दीपेश गुरुङ र राजन पुनले गोल गरे। दीपेशले खेलको पहिलो हाफको २१ मिनेटमा गोल गर्दै सातदोबाटोलाई शुरुआती अग्रता दिलाए। खेलको दोस्रो हाफको ५३ मिनेटमा राजनले एक गोल थप्दै सातदोबाटोको जीत सुनिश्चित गरे।
यता कुमारीका लागि खेलको दोस्रो हाफको अतिरिक्त समयमा सुविज्ञ रेग्मीले एक सान्त्वना गोल फर्काएका थिए।
अर्को खेलमा मध्यपुर युथ एसोसिएसनले खुमलटार युथ क्लबलाई ३–२ ले हराए।
खुमलटारका अभय रानाले २ गोल गरे पनि जितका लागि पर्याप्त हुन सकेन। रानाले खेलको ५० र ७४ मिनेटमा गोल गरेका थिए।
मध्यपुरका लागि सुब्रनविक्रम कार्कीले आठौं मिनेटमा पहिलो गोल गरे। कैलास लामिछानेले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दा मध्यपुर पहिलो हाफमा २–० ले अघि रह्यो। यस्तै विभेष गुरुङले मध्यपुरका लागि ६६ मिनेटमा तेस्रो गोल गरे।
अन्तिम मिनेटमा खुमलटारका राजेन्द्र देउवाले प्राप्त पेनाल्टीमा गोल गर्न नसक्दा खुमलटारले हार टार्न सकेन।
जारी प्रतियोगतामा लिगको विजेताले रु आठ लाख तथा उपविजेताले रु पाँच लाख पाउनेछ । त्यस्तै तेस्रो हुनेले रु तीन लाख र चौथो हुने टोलीले रु दुई लाख पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।