काठमाडौं– नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरले पदबाट राजीनामा दिएका छन्।
पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै महरले आफ्नो राजीनामा पत्र पढेर सुनाएका थिए।
सो क्रममा उनले आफ्नो राजीनामा गराउन सिंगो केन्द्रीय कार्यसमिति लागेकाले राजीनामा दिएको बताए।
निर्वाचित कार्यसमितिबाट महाधिवेशन गराउनु पर्नेमा तदर्थ समितिको बाटोमा लागेको भन्दै महरको असन्तुष्टि थियो।
पत्रकार सम्मलेनपछि केन्द्रीय समिति बैठक जारी रहेकै समयमा महरले पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन्।
'महाधिवेशनबाट निर्वाचित भएर आएको व्यक्ति भएकाले महाधिवेशन र स्ववियू सम्पनन् गर्ने अर्जुन दृष्टी हुँदाहुँदै विधान अनुसार नेविसंघको कार्यकाल समाप्त भैसकेको र यही विषयमा पार्टीको केन्द्रीय समितिमा मतमतान्तर देखिएको कुरालाई आत्मसात् गरेको छु। हालै सम्पन्न महासमिति बैठक पश्चात पार्टी सम्पूर्ण रुपले एक ढिक्का भएर सर्वसत्तावाद उन्मुख सरकार विरुद्ध संघर्ष गर्ने वातावरण बनेको समयमा नेविसंघको समयावधि थप गर्ने कि नगर्ने विषयमा विवाद हुनुहुँदैन भन्ने कुरामा म सचेत छु', सभापतिलाई बुझाइएको राजीनामा पत्रमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।