काठमाडौं– नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का आइसिसी वरीयताको अलराउन्डरको उत्कृष्ट ४० स्थानभित्र पर्न सफल भएका छन्।
युएईविरुद्धको टी–२० सिरिज नेपाललाई जिताउन उत्कृष्ट खेलेका पारसले टी–२० वरीयताको अलराउन्डरमा फड्को मारेका हुन्। ७६ रेटिङ अंकसहित ४० स्थानमा रहेका पारसको यो करिअरकै उच्च वरीयता हो। टी–२० वरीयताको अलराउन्डरमा नेपालका सोमपाल कामी पनि उत्कृष्ट सय स्थानभित्र पर्न सफल भएका छन्। सोमपाल ६० रेटिङ अंकसहित ५०औं स्थानमा छन्।
टी–२० अलराउन्डरको शीर्ष स्थानमा बंगलादेशका सकिब अल हसन छन्। दोस्रो स्थानमा अफगानिस्तानका मोहमद नाबी छन् भने बंगलादेशकै मोहमुदुल्लाह तेस्रो स्थानमा छन्।
ब्याट्सम्यानको वरीयतामा भने पारस ९०औं स्थानमा छन्। टी–२० ब्याट्सम्यानको वरीयतामा उत्कृष्ट सय भित्र पर्ने पारस नेपालका एक्ला खेलाडी हुन्। ब्याट्सम्यानको वरीयताको शीर्ष स्थानमा पाकिस्तानका बाबर अजाम छन् भने दोस्रो स्थानमा न्युजिल्यान्डका कोलिन मुनरो र तेस्रो स्थानमा अस्ट्रेलियाका आरोन फिन्च छन्।
यता बलरको वरीयतामा पनि सोमपालको स्थानमा सुधार आएको छ। सोमपाल २२ स्थान माथि उक्लदै ७०औं स्थानमा पुगेका छन्। बसन्त रेग्मी बलरको वरीयतामा ७१ स्थानमा छन्। यता सन्दीप लामिछानेले पनि वरीयतामा सुधार ल्याएका छन्। सन्दीप बलरको वरीयतामा ३६ स्थान माथि उक्लदै १ सय ५९ स्थानमा छन्। बलरको वरीयताको शीर्ष स्थानमा अफगानिस्तानका रासिद खान छन्। भारतका कुलदीप यादव दोस्रो र पाकिस्तानका सादब खान तेस्रो स्थानमा छन्।
यसअघि युएई विरुद्धको ३ खेलको टी–२० सिरिज २–१ ले जितेसँगै नेपाल टी–२० वरीयतामा १४औं स्थानमा उक्लिएको थियो। नेपालले दुबईमा भएको अन्तिम तथा निर्णायक खेलमा युएईलाई १४ रनले हराएर सिरिज कब्जा गरेको थियो।
पहिलो पटक टी–२० सिरिज जितेको नेपालले १४औं वरियतामा उक्लने क्रममा ४३ रेटिङ अंक प्राप्त गरेको छ। नेपालले भन्दा पछि रहेको युएई १५औं स्थानमा छ। हङकङ १६औं, ओमान १७औं र आयरल्यान्ड १८औं स्थानमा छन्।
शीर्ष स्थानमा पाकिस्तान छ भने दोस्रो स्थानमा भारत छ। दक्षिण अफ्रिका तेस्रो, इंग्ल्यान्ड चौथो, अस्ट्रेलिया पाँचौ, न्युजिल्यान्ड छैटौं, वेस्ट इन्डिज सातौं, अफगानिस्तान आठौं, श्रीलंका नवौं, बंगलादेश दशौं, स्कटल्यान्ड एघारौं, जिम्बावे १२औं र नेदरल्यान्ड्स १३औं स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।