काठमाडौं– तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा काठमाडौं गोल्डेन्सले विजयी सुरुवात गरेको छ। काठमाडौंले सोमबार भएको पहिलो खेलमा घरेलु टिम धनगढी स्टार्सलाई ४ विकेटले पराजित गरेको हो।
धनगढीले दिएको १ सय ३३ रनको लक्ष्य काठमाडौंले १ बल बाँकी छदा ६ विकेटको क्षतिमा पार गर्यो।
काठमाडौंलाई अन्तिम ओभरमा ८ रन चाहिएको स्थितिमा पहिलो चार बलमा क्रिजमा रहेका मेहबुब अलाम र बिक्रम भुषालले बाउन्ड्री हान्न सकेनन् भने ४ रन जोडे। पाँचौ बलमा मेहबुले चौका प्रहार गर्दै काठमाडौंलाई जित दिलाए। मेहबुबले १० बलमा नटआउट १२ र बिक्रमले १० बलमा नटआउट १४ रन जोडे। त्यसअघि ओपनर गौरव तोमाराले २४ र अनिल साहले २४ रन जोडे। अंकित दवासले २९ रनको योगदान दिएका थिए। यद्यपी ज्ञानेन्द्र मल्ल ३ रन, सोनु तामाङ २ रन र योगेन्द्रसिंह कार्की पनि २ रनमा आउट हुँदा काठमाडौंमाथि दबाब थपिएको थियो।
बलिङमा धनगढीका रोहान मुस्ताफाले ४ विकेट लिएका थिए। अमिर हायत र विपिन खत्रीको नाममा १–१ विकेट रह्यो।
त्यसअघि धनगढीको फाप्ला मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३२ रन जोड्यो। उसका लागि अमीत श्रेष्ठले ५० रन जोडे। उनले ५० बलमा ४ चौका र २ छक्का हिर्काए। सौरभ खनालले १० बलमा ३ चौका र १ छक्काको मद्दतमा नटआउट २५ रन जोडे। पवन सराफले १९ र सन्दीप रजाइलीद्ये २८ रन बटुले।
बलिङमा काठमाडौंका नन्दन यादवले २ विकेट लिए। अंकित दवास र ललितनारायण राजवंशीको नाममा १–१ विकेट रह्यो। अंकित खेलको म्यान अफ दि म्याच भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।