टुरिन– पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले सिजनमा २०औं गोल गरेको खेलमा युभेन्ट्सले सासोउलोलाई पराजित गरेको छ। इटालियन सिरि एको शीर्ष स्थानको युभेन्ट्सले आइतबार राति भएको खेलमा सासुओलोमाथि ३–० को जित हात पारेको हो। जितसँगै शीर्ष स्थानको युभेन्ट्सले अंक तालिकामा ११ अंकको अग्रता लिएको छ।
खेलमा युभेन्ट्सले सामी खादिराको गोलबाट अग्रता लिएको थियो। २३ मिनेटमा रोनाल्डोको प्रहार विपक्षी गोलकिपरले पन्च गरेको बलमा खादिराले रिबाउन्डमा गोल गरेका थिए।
रोनाल्डोले ७० मिनेटमा युभेन्ट्सको अग्रता दोब्बर पारे। उनले मिरालेम पिजानिकको कर्नरमा हेडमार्फ गोल गरेका थिए। इमरे कानले खेल सकिन चार मिनेट बाँकी छदा युभेन्ट्सका लागि तेस्रो गोल गरे।
रोनाल्डोले 'सिरि ए'मा १८औं र समग्र प्रतियोगितामा २०औं गोल गरेका हुन्। रोनाल्डो जारी सिजनको सिरि एमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा छन्। युभेन्ट्सका लागि रोनाल्डोले सबै प्रतियोगितामा गरी सिजनमा ३१ खेल खेलिसकेका छन्।
जारी लिगमा युभेन्ट्सले २३ खेलबाट ६३ अंक जोडेको छ। दोस्रो स्थानको नापोलीको ५२ अंक छ भने ४३ अंक जोडेको इन्टर मिलान तेस्रो स्थानमा छ।
लिगमा अपराजित युभेन्ट्सले २० खेलमा जित हात पार्दा ३ खेल बराबरी खेलेको छ। जससँगै युभेन्ट्स लगातार आठौं उपाधि जित्ने अभियानमा बलियो बन्दै गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।