स्याङ्जा- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको राष्ट्रियता र अखण्डता बलियो बनाउन राप्रपा बलियो हुनुपर्ने बताएका छन्। धार्मिक आस्था नभएका शासकका कारण धर्म, नैतिकता र आदर्श कमजोर हुँदै गएको समेत उनले बताएका छन्।
स्याङ्जाको पुतलीबजारमा शनिबार आयोजित 'जनजागरण सभा'लाई सम्बोधन गर्दै थापाले हिन्दूराष्ट्रको एजेन्डा कुनै धर्मको विरोधमा नभई मुलुकको पहिचानसँग सम्बन्धित भएको स्पष्ट पारे।
मुलुकमा पछिल्लो समय भ्रष्टाचार मौलाएको भन्दै वाइडबढी, कर छली, विदेशको कालो धन, सुनकाण्ड जस्ता ब्रम्हलुटको विषयमा सरकार मौन बसेकोमा तीव्र आक्रोश पोखे।
मुलुकको राष्ट्रियता र अखण्डतामा प्रश्न चिन्ह उठ्ने गरी क्रियाकलाप भइरहँदा पनि सरकार मूकदर्शक भएर बसिरहनु दु:खद् भएको थापाको भनाइ थियो।
राप्रपालाई मुलुकको बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गर्न आफू कृयाशील रहेको चर्चा गर्दै उनले फागुन १५ देखि ३० सम्म मेची- महाकाली राष्ट्रिय स्वाभिमान यात्रालाई सफल बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिए।
पार्टीका नेताहरु तोरण बहादुर गुरुङ, दिलविकास राजभण्डारी, केदारेश्वर पीठका पीठाधीस डा लेखनाथ आचार्य, मदन कार्की, पुष्पराज पुरुषलगायतका व्यक्तित्वले सम्बोधन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।