बुटवल- नेपाली कांगे्रसका केन्द्रीय सदस्य मीन विश्वकर्माले दुई तिहाइको रापले उम्लिएको सरकार एक वर्ष भित्रै सिद्धिने दाबी गरेका छन्। शनिबार बुटवलमा नेपाल महिला संघले आयोजना गरेको सरकार बिरुद्ध बृहत प्रदर्शन तथा विरोध सभामा सम्बोधन गर्र्दै नेता विश्वकर्माले राज्यले नै अपराधी संरक्षण गर्दा हत्या–हिंसा, बलात्कारजस्ता आपराधिक घटना बढ्नुका साथै सुशासन कायम हुन नसकेको बताएका हुन्।
वाइडबडी, फोरजी सेवा, प्रदेश ५ को गाडी खरीद प्रकरणलगायतका भ्रष्टाचार काण्डले कम्युनिष्ट सरकारको वास्तविक चरित्र जनता सामु उदाङ्गो भएको उनको दाबी थियो। केन्द्र र प्रदेश दुवै सरकारले दुई तिहाइको बहुमत भ्रष्टाचार गर्ने र अपराधी जोगाउने लाइसेन्सको रुपमा प्रयोग गरेको आरोप पनि लगाए।
कार्यक्रममा नेपाल महिला संघकी केन्द्रीय उपसभापति सरस्वती तिवारीले बालिकाको हत्या र बलात्कार गर्ने अपराधीलाई राज्यले नै संरक्षण गरेपछि देशभर महिला हिंसा–हत्या बलात्कारका घटना बढेको बताइन्। देश र जनताको सुरक्षा र संरक्षण गर्ने सामथ्र्य सरकारमा नभएको भन्दै उनले भ्रष्टाचारी र अपराधी संरक्षण गर्ने सरकारलाइ नङ्गयाएरै छाडने दाबी गरिन्।
कार्यक्रममा कांग्रेस जिल्ला सभापति अब्दुल रज्जाकले सोझा जनता झुक्याएर पाएको दुई तिहाइको दम्भमा सरकार अन्धो भएको र सरकारका क्रियाकलापबाट जनता दिक्क भइसकेको बताएका थिए।
कार्यक्रममा कांग्रेस र महिला संघका विभिन्न तहका नेताले पनि सम्बोधन गरेका थिए।
विरोध सभाअघि बुटवलको चौराहबाट र्याली निकालिएको थियो। र्यालीमा महिलाहरुले सरकार विरुद्ध चर्का नाराबाजी गर्दै गृहमन्त्रीको राजीनामा माग गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।