जनकपुर- शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले साक्षरता अभियान सफल पार्न गैर आवासीय नेपालीको संस्था एनआरएनसँग छलफल भइरहेको जानकारी दिएका छन्। २०७६ लाई साक्षरता वर्षको मनाउने लक्ष्य रहेको बताएका मन्त्री पोखरेलले सो लक्ष्य पूरा गर्न एनआरएनसँगको सहकार्य फलदायी हुने विश्वास उनले व्यक्त गरे।
महोत्तरी जिल्लाका नगरपालिका प्रमुख तथा गाउँपालिका प्रमुखहरुको भेलालाई आज सम्बोधन गर्दै मन्त्री पोखरेलले २०७६ लाई साक्षरता वर्ष मनाउने लक्ष्यलाई पूरा गर्न सबै निरक्षरलाई साक्षर बनाउनुपर्ने बताए।
नेपालका ४७ जिल्ला साक्षर घोषणा भएपनि प्रदेश २ का कुनै पनि जिल्ला साक्षर घोषणा भएका छैनन्। यस विषयमा चिन्ता व्यक्त गर्दै मन्त्री पोखरेलले यस प्रदेशका आठओटै जिल्लाहरू २०७६ भित्रै साक्षर बनाउने सरकारको लक्ष्य रहेको समेत बताए।
मन्त्री पोखरेलले सबैलाई विद्यालयमा भित्र्याउन तथा विद्यालयमा भर्नादर र टिकाउ दर उच्च राख्न, गुणस्तरीय शिक्षा दिने काम सरकारले प्राथमिकतामा राखेको बताए।
उनले आगामी शैक्षिक सत्रमा सबै बालबालिकालाई विद्यालयमा भर्ना गर्न एवं साक्षरता अभियानमा सक्रिय भएर लाग्न नगरप्रमुख र अध्यक्षहरुलाई आग्रह समेत गरे।
जिल्ला समन्वय समितिका महोत्तरीका प्रमुख सुरेश सिहंको अध्यक्षता तथा शिक्षामन्त्री पोखरेलको प्रमुख आतिथ्यमा भएको भेलाले महोत्तरी जिल्लालाई साक्षर घोषणा गर्न जिल्ला समन्वय समितिका प्रमुख सिंहको अध्यक्षतामा सबै नगर प्रमुख र अध्यक्ष सम्मिलित १९ सदस्यीय जिल्ला साक्षर घोषणा समिति गठन गरेको छ।
त्यसैगरी आफ्नो स्थानीय तहमा साक्षरता अभियान चलाएर विद्यालय बाहिर रहेका विद्यालय भर्ना गर्न समिति गठन गर्ने, घरधुरी सर्वेक्षण गर्नेलगायतका काम गरी सबैलाई साक्षर बनाउने निर्णय समेत उक्त भेलाले गरेको जनाएको छ।
उक्त भेलामा शिक्षा विकास निर्देशनालय प्रदेश २ का निर्देशक रमाकान्त शर्मा, शिक्षा विकास तथा समन्वय इकाई महोत्तरीका प्रमुख शत्रुधन यादव लगायतले मन्तव्य राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।