कैलाली– आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका लागि कैलालीका सबै निर्वाचन क्षेत्रका मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलेका छन्।
जिल्ला अदालत कैलालीका न्यायाधीश विष्णुप्रसाद अर्याल र प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले धनगढीमा संयुक्त रुपमा ती कार्यालयको उद्घाटन गरेका हुन्।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ र त्यसभित्रका प्रदेशसभा सदस्य (दुवै क्षेत्र) का मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला कृषि विकास कार्यालयमा खुलेको छ। क्षेत्र नम्बर २ र त्यसभित्रका प्रदेशसभा (दुवै क्षेत्र) को मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्रीय वन कार्यालयमा खुलेको छ। यस्तै,क्षेत्र नम्बर ३ र त्यसभित्रका प्रदेश सभा (दुवै क्षेत्र) को मुख्य निर्वाचन अधिकृतको कार्यालय सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय चौराहामा खुलेको छ। क्षेत्र नम्बर ४ र त्यसभित्रका प्रदेशसभा (दुवै क्षेत्र) को मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समितिमा र क्षेत्र नम्बर ५ र त्यसभित्रका प्रदेशसभा (दुवै क्षेत्र) को मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्रीय स्वास्थ्य तालीम केन्द्रमा राखिएको छ।
५ वटै निर्वाचन क्षेत्रका लागि निर्वाचन अधिकृत तोकिएका छन्। निर्वाचन आयोगका क्षेत्रीय निर्वाचन अधिकारी मोहनप्रसाद अर्यालका अनुसार क्षेत्र नम्बर १ मा खिमानन्द भुसाल, २ मा शिवहरि पौडेल, ३ मा पिताम्बर भण्डारी, ४ मा अर्जुनप्रसाद कोइराला र क्षेत्र नम्बर ५ मा विष्णुप्रसाद अर्याल खटिएका छन्।
प्रमुख जिल्ला अधिकारी रिजालले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित बनाउन सबै निकाय लागिपरेको बताए। उनले जिल्लामा निर्वाचन सुरक्षा कार्ययोजना बनाई निर्वाचन कार्यालय, निर्वाचन सामग्री र उम्मेदवारको सुरक्षा व्यवस्था भइरहेको बताए।
निर्वाचन कार्यतालिका अनुसार कात्तिक १५ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नेछन्। मंसिर २१ गते जिल्लाका सबै मतदान केन्द्रमा मतदान भइसकेपछि मतपेटिकाहरु धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याई गणना गरिनेछ।
कैलालीका ५ वटै निर्वाचन क्षेत्र गरी यस पटक ४ लाख ५७ हजार ४ सय ९८ मतदाता छन्।
निर्वाचन कार्यालयको तथ्यांक अनुसार क्षेत्र नम्बर १ मा ९० हजार ६ सय ७४, क्षेत्र नम्बर २ मा ८९ हजार ८ सय ७१, क्षेत्र नम्बर ३ मा ९१ हजार ७ सय ३३, क्षेत्र नम्बर ४ मा ९३ हजार ३ सय ८४ र क्षेत्र नम्बर ५ मा ९१ हजार ८ सय ३८ मतदाता छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।