खस्यौली- राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले विदेशी शक्ति केन्द्रले कम्युनिस्ट सरकार नरुचाएकाले राजतन्त्र ल्याउने खेल सुरु भएको बताएका छन्।
आज बुटवलमा प्रगतिशील पत्रकार मञ्चले आयोजना गरेको पत्रकार भेटघाटमा उनले गणतन्त्र, धर्मनिरपेक्ष, समावेशीकरण लगायतका उपलब्धिको संरक्षण नगरे राजतन्त्र फकर्ने र त्यो पनि नसके निरङ्कुशता ल्याउने प्रपञ्च भएको बताए।
अध्यक्ष केसीले सङ्घीय प्रणालीले मुलुक अस्तव्यस्त भएकाले विदेशी हस्तक्षेप बढेको उल्लेख गर्दै गणतन्त्रमाथि कालो बादल मडारिएको बताए। राजनीतिक दलले हरेक ठाउँमा भागबण्डा गरेर भ्रष्टाचारलाई प्रोत्साहित गरेको आरोप लगाउँदै उनले नीतिगत भ्रष्टाचार अहिले झन् बढेको दाबी गरे।
मुलुकमा रेमिट्यान्स भित्र्याएर तीन तहको सरकार सञ्चालन नहुने उल्लेख गर्दै अध्यक्ष केसीले सङ्घ र स्थानीय तहबाहेक प्रदेशको कुनै भूमिका नभएको जिकिर गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।