काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई २ वर्षको तलब पठाएको छ।
आइसिसीले विगत २ वर्षको अवधिमा नेपाली राष्ट्रिय टिमबाट खेलेका २१ क्रिकेटरका लागि २ वर्षको तलब पठाएको हो। आइसिसीले नेपाली टिमका प्रशिक्षक जगत टमाटा र व्यवस्थापक रमन शिवाकोटीका लागि पनि तलब पठाएको छ।
आइसिसीले स्टाण्डर्ड चार्टर्ड बैंकमार्फत २ वर्षको एकमुष्ट १ करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ राष्ट्रिय खेलकुद परिषद्लाई पठाएको छ। आइसिसीले आइसिसीले सन् २०१७ र २०१८ को तलबका लागि रकम पठाएको हो।
रकम प्राप्त भएसँगै अब निकट भविष्यमै खेलाडीलाई तलब उपलब्ध गराउने राष्ट्रिय खेलकुद परिषद्का प्रेस सल्लाहकार रोहित दाहालले नेपाल लाइभलाई जानकारी दिए। राष्ट्रिय खेलाडीका लागि तलब उपलब्ध गराउनका लागि राष्ट्रिय खेलकुद परिषदले आइसिसीलाई पत्रकार गरेको थियो।
तलबका लागि राष्ट्रिय खेलाडीको नयाँ वर्गीकरण गरिएको थियो। वर्गीकरण अनुसार २१ खेलाडीलाई तीन श्रेणीमा वर्गीकरण गरिएको थियो। वर्गीकरणपछि २१ खेलाडीसँगको २ वर्षको सम्झौता गरिएको थियो। सम्झौताको विवरण आइसिसीलाई पठाइएको थियो। त्यसपछि आइसिसीले तलब पठाठएको थियो।
नयाँ वर्गिकरण राष्ट्रिय टिमका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र प्रशिक्षक जगत टमाटाले गरेका थिए। यसअघि २१ खेलाडीका लागि मात्र तलब पठाइने भनिए पनि आइसिसीले व्यवस्थापक सिवाकोटी र प्रशिक्षक टमाटालाई पनि तलब उपलब्ध गराउने भएको हो। दुवैका लागि मासिक १५–१५ हजार उपलब्ध गराइने भएको छ। यद्यपी प्रशिक्षक टमाटाले तलबको विषयमा खुलाउन चाहेका छैनन्।
झन्डै तीन वर्षअघि आइसिसीले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेपछि आइसिसीले नेपाली क्रिकेट व्यवस्थान हेर्दै आएको छ। त्यसैले राष्ट्रिय क्रिकेटरले नियमित तलब पाउन सकेका थिएनन्। यसअघि आइसिसीले राष्ट्रिय क्रिकेटरलाई गत वर्ष भने एक वर्षको तलब पाएका उपलब्ध गराइएको थियो।
कसले कति पाउनेछन् तलब?
ए श्रेणी – मासिक ३५ हजार रुपैयाँ
पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी
(२ वर्षको एकमुष्ठ जनही ८ लाख ४० हजार रुपैयाँ पाउने)
बी श्रेणी – मासिक २५ हजार रुपैयाँ
आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, शक्ति गौचन
(२ वर्षको एकमुष्ठ जनही ६ लाख रुपैयाँ पाउने)
सी श्रेणी – मासिक १५ हजार रुपैयाँ
सुवास खकुरेल, सागर पुन, दिलीप नाथ, सुनील धमला, सुशन भारी, प्रदीप ऐरी, विनोद भण्डारी
(२ वर्षको एकमुष्ठ जनही ३ लाख ६० हजार रुपैयाँ पाउने)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।