– कृष्ण न्यौपाने/रासस
दमौली- तनहुँ जिल्ला कारागारमा क्षमताभन्दा ४ गुणा बढी कैदीबन्दी भएपछि शौचालय जान समस्या भएको छ। ३५ जना क्षमता रहेको कारागारमा हाल १ सय ३० जना कैदीबन्दी भएपछि शौचालय जान समस्या भएको हो।
कारागारका चौकीदार नरबहादुर थापाले बिहानको समयमा कैदीबन्दीले शौचालय प्रयोग गर्न लाइन बस्नुपर्ने बाध्यता रहेको जानकारी दिए। कारागारभित्र हाल ७ वटा मात्र शौचालय भएकाले कैदीबन्दीलाई समस्या परेको उनले बताए।
'अरु समयभन्दा बिहानको समयमा समस्या हुने गरेको छ। बिहानपख शौचालय जान पालो पर्खनुपर्छ', उनले भने। पर्याप्त शौचालय नहुनु र कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा यस्तो समस्या आएको थापाले दाबी गरे।
कारागारका प्रमुख नारायण अधिकारीले क्षमताभन्दा बढी कैदीबन्दी भएकाले यस्तो समस्या आएको बताउँछन्। उनले कारागारमा रहेका केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरणका लागि पहल गरिएको जानकारी दिए। उनले भने, 'दिउँसोको बेलामा त त्यति समस्या हुँदैन, बिहानको समयमा पालो पर्खिएरै शौचालय जानुपर्ने अवस्था छ।'
कारागारमा हाल ६१ थुनुवा र ६९ कैदी गरी १ सय ३० जना कैदीबन्दी रहेका छन् । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा असहज भएकाले यस विषयमा कारागार व्यवस्था विभागसँग छलफल गरी समस्या समाधान गरिने बताए।
तनहुँ कारागारमा ८ करोड रुपैयाँको लागतमा महिला बन्दीगृह निर्माण भइरहेको छ। गत फागुनबाट निर्माण थालिएको भवन १८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
पराजुली होम निर्माण जेबीले महिला बन्दीगृह भवन निर्माण गरिरहेको छ। दुई रोपनी क्षेत्रफलमा प्रहरी व्यारेक, कार्यालय भवन र ५० जना क्षमताको बन्दीगृह निर्माण भइरहेको कारागार प्रशासनले जनाएको छ। हाल तनहुँ कारागारमा महिला बन्दीगृह नहुँदा उनीहरुलाई कास्की र गोरखा कारागार पठाउनुपर्ने अवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।