फिदिम- पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गाराज खत्रीको कुटपिटबाट सोही विद्यालयमा अध्ययनरत एक विद्यार्थी घाइते भएका छन्। उनलाई उपचारका लागि पाँचथर जिल्ला अस्पतालमा भर्ना गरिएको छ।
विद्यार्थी बस्ने बेञ्च बङ्ग्याएको विषयमा प्रधानाध्यापक खत्रीले बिहीबार कक्षा ९ का विद्यार्थी रोहित राईलाई सोधपुछ गर्नुका साथै सामान्य कुटपिट गरेका थिए। खत्रीले टाउकोमा प्रहार गरेका कारण राई घाइते भएका छन्।
राईसँगै कक्षा ९ मा अध्ययनरत विद्यार्थी निशान सापकोटाका अनुसार सोही विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीका कारण बेञ्च बाङ्गिएको थियो।
पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ रवि घर भएका राई फिदिम डेरा गरी अध्ययन गर्दै आएका छन् ।
प्रधानाध्यापक खत्रीको कुटाइबाट घाइते राईले रिगटा लागेको बताइरहेको उपचारमा संलग्न जिल्ला अस्पतालका अहेब दीपक अधिकारीले बताए। कुटपिटका कुनै निल डाम नदेखिए पनि टाउकामा असर परेको हुन सक्ने अधिकारीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।