पाल्पा- श्रीमान्बाट श्रीमती पीडित भएको गुनासो समाजमा बढिरहेका बेला पछिल्लो समय पाल्पामा श्रीमतीपीडित पुरुषहरु पनि सम्बन्धित निकायमा पुग्न थालेका छन्।
श्रीमतीबाट पीडित पुरुष स्वयं जिल्ला अदालतमा न्यायका लागि जान थालेका हुन्।
विशेषगरी वैदेशिक रोजगारमा रहेका श्रीमान् श्रीमतीपीडित भएको भन्दै न्यायको उन्मुक्तिको बाटो खोज्दै अदालतमा पुग्ने गरेको पाइएको छ। वैदेशिक रोजगारीमा कमाएको धन हिनामिना गर्नुजस्ता कारण देखाउँदै पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएको पाइन्छ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा जिल्लामा सम्बन्धविच्छेदका १२२ मुद्दा दर्ता भएकोमध्ये ८७ महिला र ३५ पुरुषले सम्बन्धविच्छेदका लागि जिल्ला अदालत पाल्पामा पुगेर मुद्दा दर्ता गराएका छन्। हुन त यो तथ्याङ्कले पुरुषको तुलनामा महिलाको सङ्ख्या दोब्बर बढी देखिन्छ। तर जिल्लामा पहिलेको अवस्थालाई हेर्दा सम्बन्धविच्छेदका लागि पुरुषको सङ्ख्या धेरै बढ्दो छ।
नयाँ मुलुकी संहिता लागू भएपछि सम्बन्धविच्छेदका मुद्दा लिएर पुरुष जिल्ला अदालत धाउन थालेका हुन्।
भदौ १ गतेबाट नयाँ मुलुकी संहितासम्बन्धी ऐन प्रचलनमा आएपछि पुरुषले पनि अदालतमा सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराउन पाइने व्यवस्था छ।
पुस मसान्तसम्म दर्ता भएका १२२ मुद्दामध्ये ५९ मुद्दा फछ्र्यौट भएको जिल्ला अदालत पाल्पाका तहसीलदार भेषराज खनालले जानकारी दिए। दर्ता भएका मुद्दामध्ये ६३ फछ्र्यौट हुन बाँकी छ।
गत वर्ष जिल्लामा १३३ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको थियो। महिलाहरु मानसिक यातना, घरेलु हिंसा, अपहेलनाजस्ता समस्या लिएर मुद्दा दर्ता गराउन पुग्ने गरेको कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।