काठमाडौं – फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ का लागि अहिलेसम्म २३ देशले स्थान पक्का गरिसकेका छन्। बाँकी ९ स्थानको टुंग्गो अबको एक महिनाभित्र लागिसक्नेछ।
विश्वकपमा युरोपबाट १० टिमले विश्वकपमा स्थान बनाइसकेका छन्। जसमा आयोजक रसियासहित स्पेन, फ्रान्स, पोर्चुगल, बेल्जियम, जर्मनी, इंग्ल्यान्ड, पोल्यान्ड, सर्बिया र आइसल्यान्ड छन्।
एसियाबाट छनोट भएका देशमा इरान, दक्षिण कोरिया, जापान र साउदी अरेबिया छन्।
उत्तर, मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट मेक्सिको, कोस्टारिका र पानामाले विश्वकपमा स्थान पक्का गरेका छन्।
दक्षिण अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना र कोलम्बिया छनोट भएका छन्।
अफ्रिकाबाट नाइजेरिया र इजिप्टले विश्वकपमा स्थान बनाएका छन्। अफ्रिकाबाट अब ३ टिम छनोट हुन बाँकी छ। बाँकी ६ स्थानको टुंगो प्ले अफबाट लाग्नेछ। जसमा १२ टिम छनोट भएका छन्।
प्ले अफमा अस्ट्रेलिया तथा होन्डुरसबीच प्रतिस्पर्धा हुँदैछ। अर्को प्ले अफमा दक्षिण अमेरिकामा पाँचौं भएको पेरु र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।
युरोपको प्ले अफमा उत्तरी आयरल्यान्डले स्विट्जरल्यान्डसँग खेल्नेछ। क्रोएसियाले ग्रिसको सामना गर्नेछ। यस्तै, डेनमार्क र आयरल्यान्ड गणतन्त्रबीच भिडन्त हुनेछ। अर्को प्ले अफमा इटाली र स्विडेनबीच प्रतिस्पर्धा हुनेछ।
प्लेअफ खेल होम र अवेका आधारमा ९ र १४ नोभेम्बरमा हुनेछ। जित हात पर्ने टिम विश्वकपमा छनोट हुनेछन्।

विश्वकपमा छनोट भएका २३ देशको विश्वकप इतिहास
रसिया
रसिया आयोजकका रुपमा विश्वकपमा छनोट भएको हो। रसियाले विश्वकप खेल्न लागेको यो एघारौं पटक हो। यसअघि रसियाले सन् १९५८, १९६२, १९६६, १९८६, १९९०, १९९४, २००२ र २०१४ मा प्रतिस्पर्धा गरिसकेको छ। विश्वकपमा रसियाको उत्कृष्ट प्रदर्शन भनेको सन् १९६६ मा चौथो स्थान हात पार्नु हो। सेमिफाइनलमा तत्कालीन सोभियत संघलाई पश्चिम जर्मनीले पराजित गरेको थियो। तेस्रो स्थानका लागि भएको खेलमा पनि पोर्चुगलसँग पराजित भएपछि सोभियत संघ चौथो स्थानमा सीमित भएको थियो।
ब्राजिल
ब्राजिल दक्षिण अमेरिकाबाट रसिया विश्वकपका लागि छानिने पहिलो टिम हो। छनोटमा उत्कृष्ट प्रदर्शन गरेको ब्राजिल लगातार २१ पटक विश्वकप खेल्न लागेको एक्लो टिम हो। दक्षिण अमेरिका छनोटमा ब्राजिलले शीर्ष स्थात हात पार्यो। सन् १९३० देखि ब्राजिलले लगातार विश्वकप खेल्दै आएको छ। विश्वकप फुटबलमा सबैभन्दा सफल टिम ब्राजिलले पाँच पटक विश्वकपको उपाधि जितेको छ। ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा विश्वकपको उपाधि जितेको हो।
उरुग्वे
उरुग्वे विश्वकप फुटबलको जन्मदाता हो। उरुग्वेले सन् १९३० मा विश्वकप फुटबल आयोजना गरेको थियो। दक्षिण अमेरिका छनोटको दोस्रो बनेर १३औं पटक विश्वकपमा स्थान बनाएको उरुग्वेले सन् २००२ यता लगातार विश्वकप खेल्दै आएको छ। सन् १९३० पछि उरुग्वेले १९५०, १९५४, १९६२, १९६६, १९७०, १९७४, १९८६ र १९९० मा विश्वकप खेल्यो। यस्तै उरुग्वेले २००२, २००६, २०१० र २०१४ मा पनि प्रतिस्पर्धा गर्यो । उरुग्वे सन् १९३० र १९५० को च्याम्पियन हो।
अर्जेन्टिना
दक्षिण अमेरिका छनोटको तेस्रो स्थान हात पारेर अर्जेन्टिनाले रसियाको टिकट काटेको हो। अर्जेन्टिना विश्वकपमा छनोट भएको यो १७औं पटक हो। अर्जेन्टिनाले सन् १९७४ देखि लगातार विश्वकप खेल्दै आएको छ। अर्जेन्टिनाले १९३०, १९३४, १९५८, १९६२, १९६६, १९७४, १९७८, १९८२, १९८६, १९९०, १९९४, १९९८, २००२, २००६, २०१० र २०१४ मा विश्वकप खेलिसकेको छ। यसक्रममा अर्जेन्टिनाले सन् १९७८ र १९८६ को विश्वकपको उपाधि जित्यो।
कोलम्बिया
कोलम्बियाले दक्षिण अमेरिका छनोटमा चौथो स्थान हात पार्दै सन् २०१८ विश्वकपमा स्थान बनायो। कोलम्बिया विश्वकपमा छनोट भएको यो छैटौं पटक हो। यसअघि कोलम्बियाले सन् १९६२, १९९०, १९९४, १९९८ र २०१४ को विश्वकप खेलेको थियो। कोलम्बियाको विश्वकपमा सम्झनलायक प्रदर्शन भनेको सन् २०१४ मा क्वार्टरफाइनलमा स्थान बनाउनु हो।
इरान
इरान एसियाको तेस्रो चरणको छनोटअन्तर्गत समूह 'ए' को विजेता बन्दै विश्वकपमा छानिएको हो। इरानले विश्वकप खेल्न लागेको यो पाँचौ पटक हो। यसअघि इरानले सन् १९७८, १९९८, २००६ र २०१४ मा विश्वकपमा प्रतिस्पर्धा गरेको थियो। विश्वकपमा खासै राम्रो प्रदर्शन गर्न नसकेको इरान अहिलेसम्म दोस्रो चरणमा पुग्न सकेको छैन।
जापान
जापानले एसियाको तेस्रो चरणको छनोटअन्तर्गत समूह 'बी' को विजेताका रुपमा विश्वकपमा स्थान बनाएको हो। जापान विश्वकपमा छनोट भएको यो छैटौं पटक हो । जापानले सन् १९९८ देखि लगातार विश्वकप खेलिरहेको छ। सन् १९९८ मा पहिलो पटक विश्वकप खेलेको जापानले सन् २००२, २००६, २०१० र २०१४ मा प्रतिनिधित्व जनाइसकेको छ। जापानको विश्वकपमा राम्रो प्रदर्शन भनेको सन् २००२ र २०१० मा अन्तिम १६ मा पुग्नु हो।
दक्षिण कोरिया
दक्षिण कोरिया एसियाको तेस्रो चरणको छनोटअन्तर्गत समूह 'ए'को उपविजेता बन्दै विश्वकपमा छनोट भएको हो। दशौं पटक विश्वकपमा स्थान बनाएको कोरिया १९८६ देखि लगातार विश्वकप खेल्दै आएको छ। कोरियाले पहिलो पटक सन् १९५४ मा विश्वकप खेलेको थियो। त्यसपछि कोरियाले १९८६, १९९०, १९९४, १९९८, २००२, २००६, २०१० र २०१४ मा प्रतिस्पर्धा गरेको थियो। कोरियाको राम्रो प्रदर्शन भनेको २००२ मा घरेलु भूमिमा आयोजना भएको विश्वकपमा चौथो स्थान हात पार्नु हो।
साउदी अरेबिया
साउदी अरेबियाले तेस्रो चरणको छनोटअन्तर्गत समूह 'बी'को उपविजेताका रुपमा विश्वकपमा स्थान बनाएको हो। सन् २००६ पछि विश्वकपमा छानिएको साउदीले पाँचौं पटक विश्व फुटबलको कुम्भ मेलामा भाग लिन लागेको हो। साउदीले यसअघि १९९४,१९९८, २००२ र २००६ मा प्रतिस्पर्धा गरेको थियो। साउदीको राम्रो प्रदर्शन भनेको सन् १९९४ को पहिलो सहभागितामै अन्तिम १६ मा पुग्नु हो। त्यसपछि साउदी समूह चरणबाटै बाहिरिँदै आएको छ।
बेल्जियम
बेल्जियम युरोप छनोटको समूह 'एच'को विजेता बनेर विश्वकपमा छानिएको हो। १३औं पटक विश्वकप खेल्न लागेको बेल्जियम युरोपबाट छनोट हुने पहिलो टिम हो। बेल्जियम सन् १९३० को पहिलो विश्वकप संस्करण खेल्ने देश पनि हो। त्यसपछि बेल्जियमले १९३४, १९३८, १९५४, १९७०, १९८२, १९८६, १९९०, १९९४, १९९८, २००२ र २०१४ को विश्वकप खेल्यो। बेल्जियमको विश्वकपमा अहिलेसम्मको उत्कृष्ट प्रदर्शन भनेको सन् १९८६ मा चौथो स्थान हात पार्नु हो।
जर्मनी
जर्मनीले युरोप छनोटको समूह सीको विजेताका रुपमा रसियाको टिकट काटेको हो। ब्राजिलपछि सार्वधिक पटक विश्वकप खेल्ने टिम जर्मनी हो। जर्मनीले १९औं पटक विश्वकपमा स्थान पक्का गरेको हो। सन् १९५४ पछि जर्मनीले लगातार विश्वकप खेल्दै आएको छ। जर्मनीले सन् १९३४, १९३८, १९५४, १९५८, १९६२, १९६६, १९७०, १९७४, १९७८, १९८२, १९८६, १९९०, १९९४, १९९८, २००२, २००६, २०१० र २०१४ मा विश्वकप खेलिसकेको छ। जर्मनीले अहिलेसम्म चार पटक विश्वकपको ट्रफी उचालिसकेको छ। जर्मनीले सन् १९५४, १९७४, १९९० र २०१४ मा विश्वकपको उपाधि जितेको थियो।
इंग्ल्यान्ड
इंग्ल्यान्डले युरोप छनोट समूह 'एफ' मा शीर्ष स्थान हात पारेर रसिया विश्वकपका लागि स्थान बनाएको छ। इंग्ल्यान्ड विश्वकपमा छानिएको यो १५औं पटक हो। इंग्ल्यान्डले १९८२ देखि लगातार विश्वकप खेल्दै आएको छ। सन् १९५० मा पहिलो पटक विश्वकप खेलेको इंग्ल्यान्डले सन् १९५४, १९५८, १९६२, १९६६ र १९७० मा प्रतिस्पर्धा गरेको थियो। त्यसपछि १९८२, १९८६, १९९०, १९९४, १९९८, २००२, २००६, २०१० र २०१४ मा विश्वकप खेलिसकेको छ। इंग्ल्यान्ड १९६६ को विश्वविजेता टिम हो।
स्पेन
युरोप छनोटको समूह 'जी'को विजेता बन्दै स्पेनले सन् २०१८ को विश्वकपमा स्थान बनाएको हो। १५औं पटक विश्वकपमा छानिएको स्पेनले सन् १९३४ मा पहिलो पटक विश्वकप खेलेको थियो । त्यसपछि सन् १९५० मा सहभागी भएको स्पेनले १९६२, १९६६, १९७८, १९८२, १९८६, १९९०, १९९४, १९९८, २००२, २००६, २०१० र २०१४ प्रतिस्पर्धा गर्यो। स्पेन सन् २०१० को च्याम्पियन हो।
पोल्यान्ड
युरोप छनोटमा उत्कृष्ट प्रदर्शन गरेको पोल्यान्ड समूह 'ई' को विजेता बनेर रसिया विश्वकपमा लागि छनोट भएको हो। पोल्यान्डले आठौं पटक विश्वकप खेल्न लागेको हो। यसअघि पोल्यान्डले सन् १९३८, १९७४, १९७८, १९८२, १९८६, २००२ र २००६ मा सहभागिता जनाएको थियो। पोल्यान्डको विश्वकपमा उत्कृष्ट प्रदर्शन भनेको सन् १९७४ र १९८२ मा तेस्रो स्थान हात पार्नु हो।
आइसल्यान्ड
निर्णायक खेलमा कोसोभोलाई २–० ले हराउँदै विश्वकप फुटबलमा पहिलो पटक छनोट भएर आइसल्यान्डले रेकर्ड बनाएको हो। जनसंख्याका आधारमा आइसल्यान्ड विश्वकपमा छनोट हुने सबैभन्दा सानो देश हो। आइसल्यान्डको जनसंख्या ३ लाख ३५ हजार मात्र छ। यसअघि विश्वकप खेल्ने सानो देश ट्रिनिडाड एन्ड टोबाको थियो। सन् २००६ को विश्वकप खेलेको ट्रिनिडाड एन्ड टोबाकोको जनसंख्या १३ लाख छ। आइसल्यान्ड गत वर्ष भएको युरोकपमा पनि पहिलो पटक छनोट हुने टिम मात्र होइन युरोकप खेल्ने सानो देश बनेको थियो।
सर्बिया
सर्बिया युरोप छनोटको समूह 'डी' मा शीर्ष स्थानमा रहेर विश्वकपमा छनोट भयो। सर्बियाले पछिल्लो पटक सन् २०१० को विश्वकप खेलेको थियो। विश्वकपमा सर्बिया १२औं पटक छनोट भएको हो। सर्बियाको नाममा भने दोस्रो पटक छनोट भएको हो। सर्बिया एन्ड मोन्टेनेग्रोको नाममा दुई पटक विश्वकपमा सहभागिता जनाएको सर्बियाको पुरानो नाम युगोस्लाभिया हो। युगोस्लाभियाले विश्वकपमा सात पटक सहभागिता जनाएको थियो। युगोस्लाभियाले सन् १९३० र १९६२ मा चौथो स्थान हात पारेको थियो। उसले सन् १९३०, १९५०, १९५४, १९५८, १९६२, १९७४, १९८२, १९९०, १९९८, २००६ र २०१० मा विश्वकप खेलेको थियो।
पोर्चुगल
पोर्चुगलले युरोप छनोटको समूह 'बी' को विजेता बन्दै रसियाको लागि टिकट पक्का गरेको हो। सातौं पटक विश्वकप खेल्न लागेको पोर्चुगलको उच्च प्रदर्शन भनेको सन् १९६६ मा तेस्रो स्थान हात पार्नु हो। पोर्चुगलले यसअघि सन् १९६६, १९८६, २००२, २००६, २०१० र २०१४ मा विश्वकप खेलेको थियो।
फ्रान्स
फ्रान्सले १५औं पटक विश्वकप खेल्नका लागि स्थान पक्का गरेको छ। युरोप छनोटको समूह 'ए' को विजता बनेको फ्रान्सले सन् १९९८ देखि लगातार विश्वकप खेल्दै आएको छ। सन् १९३० देखि नै विश्वकप खेल्न थालेको फ्रान्सले सन् १९३४, १९३८, १९५४, १९५८, १९६६,१९७८, १९८२ र १९८६ मा विश्वकप खेल्यो। सन् १९९८ को विश्वकप आयोजक फ्रान्सले २००२, २००६, २०१० र २०१४ मा पनि सहभागिता जनायो। घरेलु मैदानमा आयोजित सन् १९९८ को विश्वकपमा फ्रान्स च्याम्पियन बनेको थियो।
मेक्सिको
उत्तर अमेरिका छनोटको बिजेता बन्दै मेक्सिको विश्वकपमा छनोट भयो। मेक्सिकोले विश्वकपमा १६औं पटक स्थान बनाएको हो। सन् १९३० मा भएको पहिलो संस्करणमा भाग लिने टिम मध्येको एक मेक्सिकोले त्यसयता सन् १९५०, १९५८, १९६२, १९७०, १९७८, १९८६, १९९४, १९९८, २००२, २००६, २०१० र २०१४ मा प्रतिस्पर्धा गरिसकेको छ। मेक्सिको विश्वकपमा अहिलेसम्म क्वार्टरफाइनलभन्दा माथि पुग्न सकेको छैन। मेक्सिको सन् १९७० र १९८६ को विश्वकपमा अन्तिम ८ मा पुगेको थियो।
कोस्टारिका
उत्तर अमेरिका छनोटमा दोस्रो हुँदै कोस्टारिकाले विश्वकपमा टिकट पक्का गरेको हो। पाँचौं पटक विश्वकपमा छानिएको कोस्टारिकाले यसअघि सन् १९९०, २००२, २००६ र २०१४ मा प्रतिस्पर्धा गरिसकेको छ। कोस्टारिकाले सन् २०१४ को विश्वकपमा क्वार्टरफाइनलमा स्थान बनायो। यो नै उसको विश्वकपमा उच्च प्रदर्शन हो।
पानामा
पानामाले उत्तर अमेरिका छनोटमा तेस्रो हुँदै पहिलो पटक विश्वकपको यात्रा तय गरेको हो। अन्तिम खेलमा कोस्टारिकालाई २–१ ले पराजित गर्दै पानामा रसिया विश्वकपमा छनोट भयो। अन्तिम खेलमा पानामाले जितेपछि अमेरिका ३० वर्षपछि विश्वकप खेल्नबाट वञ्चित भयो। विश्वकपमा पहिलो पटक छनोट भएको भोलिपल्ट पानामाले सार्वजनिक बिदाको घोषणा गरेको थियो।
नाइजेरिया
नाइजेरिया अफ्रिका छनोटको तेस्रो चरण अन्तर्गत समूह 'बी'को विजेताका रुपमा विश्वकपमा छानिएको हो। छैटौं पटक विश्वकप खेल्न लागेको नाइजेरियाको प्रदर्शन भने सम्झनयोग्य छैन। सन् १९९४ मा पहिलो पटक विश्वकपमा सहभागी भएको नाइजेरियाले सन् १९९८ देखि लगातार भाग लिँदै आएको छ। पहिलो सहभागितामा अन्तिम १६ मा पुगेको नाइजेरिया सन् १९९८ र २०१४ मा पनि प्रिक्वाटरफाइनमा पुगेको थियो।
इजिप्ट
इजिप्ट सन् २०१८ को विश्वकपका लागि अफ्रिकाबाट छनोट हुने दोस्रो देश हो। अफ्रिका छनोटको समूह 'ई'मा पहिलो हुँदै इजिप्ट विश्वकपमा छानिएको हो। तेस्रो पटक विश्वकपमा छनोट भएको इजिप्टले यसअघि सन् १९३४ र १९९० मा विश्वकप खेलेको थियो। तर, दुवै पटक इजिप्ट पहिलो चरणबाटै घर फर्किएको थियो।
एजेन्सीको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।