सुर्खेत- कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कर्णाली प्रदेशवासीले अब रोग र भोकले मर्नु नपर्ने बताएका छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, स्वास्थ्य आपतकालीन तथा विपद् इकाइ तथा विश्व स्वास्थ्य सङ्गठनको संयुक्त आयोजनामा वीरेन्द्रनगर सुर्खेतमा सञ्चालित चारदिने ‘विपद पूर्वतयारी एवं प्रतिकार्य योजना तालीम तथा कार्यशाला’ गोष्ठीको उद्घाटन गर्दै मन्त्रीले रावलले यस्तो बताएका हुन्। कर्णालीका नागरिकको स्वास्थ्य अवस्थालाई प्राथमिकतामा राखिएको उनको भनाइ थियो।
'गोष्ठीबाट विपद् प्रतिकार्यका लागि पूर्वतयारीको उच्चतम् सेवा दिने योजना निर्माण गर्नुहोस्,' उनले भने, 'यसले प्रदेश सरकारको समृद्धि र विकासमा सहयोग पुगोस्।'
कर्णाली प्रदेश सरकारले यहाँको स्वास्थ्य समृद्धिका लागि निकट भविष्यमै स्थानीय तहसम्मका स्वास्थ्य संस्थाको सेवा प्रवाहमा गुणस्तरीय कायम गर्ने उनले बताए।
कर्णाली प्रदेश समन्वय परिषद्को बैठकले दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको उपलब्धता नभएको ठाउँमा विपद् प्रतिकार्यका लागि पूर्वतयारीका क्रियाकलापलाई बढाएर लैजानेबारे प्रधानताका साथ छलफल गरेको छ।
बिहीबारदेखि सुरु भएको कार्यशालामा कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र ५ नं प्रदेशका चिकित्सकहरुको सहभागिता रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक धर्मराज गोसाईंले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।