काठमाडौं– भौतिक पूर्वधार तथा यातायात मन्त्री रघुवीर महासेठले मुलुकभित्र बसोबास गर्ने सबै नेपालीले नागरिकता पाउने बताएका छन्।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको पर्वतामा बिहीबार ग्रामीण सडकको पुल शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेठले सरकारले जन्मको आधारमा नेपालमा बसोबास गर्ने सबैलाई नागरिकता उपलब्ध गराउन नागरिकता ऐन संशोधन प्रक्रिया अगाडि बढाएको बताए।
जन्मसिद्ध नागरिकता प्राप्त गरेकाका सन्तान पनि नागरिकता पाउनबाट वञ्चित भएको बताउँदै उनले थपे, ‘नेपालमा जन्मिएका तर नागरिकताबाट वञ्चित भएकाका लागि नागरिकता ऐन संशोधन प्रक्रिया थालिएको हो।’
आउँदो वैशाख महिनाबाट नेपालमा नागरिकताको समस्या नरहने उनले दाबी गरे।
सम्बोधनकै क्रममा उनले क्षीरेश्वरनाथ नगरपालिकाको विकासका लागि संघीय सरकारले सहरी विकास मन्त्रालयमार्फत एक अर्ब रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गरे।
मन्त्री महासेठले बिहीबार धनुषाका विभिन्न ठाउँ गरी तीनवटा ग्रामीण पुल शिलान्यास गरे।
त्यसैगरी मन्त्री महासेठले आज धनुषाका विभिन्न ठाउँमा गरी तीनवटा ग्रामीण सडक, पुल शिलान्यास गरेका छन्।
मन्त्री महासेठले धनुषा र महोत्तरी जिल्ला जोड्ने बडहरी खोलामा पक्की पुल शिलान्यास गरे।
धनुषाको बटेश्वर गाउँपालिका–२ र महोत्तरीको बर्दिवास नगरपालिकाको प्रेमनगरलाई जोड्न बडहरी खोलामा २२५ मिटर लामो पुलको बिहीबार शिलान्यास भएको हो ।
पक्की पुलको शिलान्यास भएपछि सो क्षेत्रका दर्जनौं गाउँका लाखौं जनता खुसी भएका छन्। सो क्षेत्रमा पक्की पुलको वर्षौंदेखि स्थानीय जनताले माग गर्दै आए पनि बल्ल पुल बन्ने सपना साकार भएको बटेश्वर–१ का शिक्षक रामवृक्ष महतोले खुशी व्यक्त गरे।
त्यसैगरी मन्त्री महासेठले धनुषा क्षेत्र न ४ स्थित बनिनिया,गोपालपुर, अग्लेश्वा सडक स्थित जलाद नदि पुल पनि शिलान्यास गरे।
शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य शत्रुधन महतो, सडक डिभिजन कार्यालयका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठ लगायत सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।