एजेन्सी– एसियन कप फुटबल प्रतियोगिता २०१९ को च्याम्पियन कतारले फिफा वरीयतामा ३८ स्थान फड्को मारेको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरेको वरीयतामा कतार ५५ औं स्थानमा आइपुगेको हो।
कतारले गत शुक्रबार भएको फाइनलमा जापानलाई पराजित गरेर पहिलो पटक एसियन कपको उपाधि जितेको थियो।
उपविजेतामा सीमित बनेको जापानले पनि २३ स्थान फड्को मारेको छ। जपान २७ औं स्थानमा छ भने एसियाको वरीयतामा दोस्रो स्थानमा छ। एसियाको शीर्ष स्थानमा इरान छ। इरान विश्व वरीयतामा २२औं स्थानमा छ। एसिया वरीयताको तेस्रो स्थानमा रहेको दक्षिण कोरिया ३८औं र चौथो स्थानको अस्ट्रेलिया ४२औं स्थानमा छन्। कतार भने एसिया वरीयताको पाँचौ स्थानमा छ।
नेपाल वरीयतामा १ सय ६१ स्थानमा यथावत छ। दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत १ सय ३ स्थानमा रहेको छ। दोस्रो स्थानको माल्दिभ्स १ सय ५२ स्थानमा छ। नेपाल तेस्रो स्थानमा छ। १ सय ८६ स्थानको भुटान चौथो, १ सय ९२ स्थानको बंगलादेश पाँचौ, १ सय ९९ स्थानको पाकिस्तान छैटौं र २ सय १ स्थानको श्रीलंका सातौं स्थानमा छन्।
विश्व वरीयताको शीर्ष स्थानमा बेल्जियम, दोस्रो स्थानमा फ्रान्स तेस्रो स्थानमा ब्राजिल चौथो स्थानमा क्रोएसिया पाँचौ स्थानमा इंग्ल्यान्ड छैटौं स्थानमा पोर्चुगल सातौं स्थानमा उरुग्वे आठौं स्थानमा स्विट्जरल्यान्ड नवौं स्थानमा स्पेन र दशौं स्थानमा डेनमार्क छन्। अर्जेन्टिना एघारौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।